
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा निर्माणाधीन स्यार्पू हाइड्रोको काम धमाधम भइरहेको छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ३ मा निर्माण भइरहेको आयोजनाको अब २५ प्रतिशत जति मात्र काम बाँकी रहेको छ । ३.३ मेगावाट क्षमता रहेको आयोजनाको ७५ प्रतिशत काम सकिएको स्यार्पू हाइड्रोका कार्यकारी निर्देशक प्रदीप ओलीले जानकारी दिनुभयो ।
हाल आयोजनाको काम धमाधम भइरहेको र आयोजनाको हालको प्रगति ७५ प्रतिशत रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार आयोजनाको हेडोक्स अर्थात् बाँध संरचना र पानी थिग्र्याउने संरचना निर्माण भइसकेको छ । पाइपका लागि तेस्रो तथा ठाडो भूगोलमा बेसमेन्ट निर्माणको काम पनि सकिसकेको छ भने पाइप जडानको काम जारी रहेको उहाँको भनाई छ ।
आयोजनाको विद्युत् गृह निर्माणको काम समेत सम्पन्न भइसकेको छ । मेशिन जडानका लागि आयोजना स्थलमा क्रेन ल्याएर जडान गरिसकेको आयोजनाका सिइओ ओलीले बताउनुभयो । मेशिन भने आयोजना स्थलमा ल्याउने काम भइरहेको छ । टोयर स्पा एजी इटलीबाट मेशिन भैरहवा आइसकेको र अबको केही दिनमा आयोजना स्थलमा पुग्ने उहाँले बताउनुभयो ।
यस आयोजना निर्माणका लागि दुई वटा कम्पनीले ठेक्का लिएका छन् । पाइप र पावर हाउस निर्माणको जिम्मा २४ करोडमा साकुरा पावरले लिएको छ भने उपकरणको ठेक्का जर्मनीको टोयर ए.जी.ले लिएको ओलीको भनाई छ ।
मुआब्जा लगायतका सबै प्रक्रिया पुरा गरेर निर्माणको काम सुरु भएको र स्थानीय तहबाट शेयर बापत आउनुपर्ने बाँकी रकम प्राप्त भएमा अबको तीन देखि चार महिनामा निर्माण पुरा भई परीक्षणको काम हुने उहाँले जानकारी गराउनुभयो । ‘यो आयोजना रुकुम पश्चिमका स्थानीय तह र पब्लिकको लगानीमा निर्माण हुन लागेको हो, स्थानीय तहबाट शेयर बापत आउनुपर्ने केही रकम बाँकी छ, त्यो आयो भने तीन, चार महिनामै आयोजना सम्पन्न हुन्छ,’ उहाँले भन्नुभयो ।
यो आयोजना रुकुम पश्चिमका ६ वटा पालिका र पब्लिकको साझा लगानीमा बन्न लागेको हो । ५५ प्रतिशत शेयर लगानी स्थानीय तहको रहने छ भने ४५ प्रतिशत शेयर लगानी नागरिकहरूको रहने कार्यकारी निर्देशक ओलीले बताउनुभयो । यस आयोजनाको कुल लागत अनुमान करिब ५८ करोड रहेको छ । पब्लिक लगानीका लागि शेयर आइपिओ जारी हुने उहाँको भनाई छ ।
यस आयोजनाको प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्मा प्रभाकरले २०८० को मंसिर २५ गते शिलान्यास गर्नुभएको थियो ।
यसैबिच स्यार्पू पावर कम्पनी र नेपाल प्राधिकरण बिचमा वार्षिक एक करोड ८३ लाख युनिट बिद्युत् खरिद बिक्री गर्ने सम्झौता भइसकेको छ । यसबाट स्यार्पू पावर कम्पनीले पहिलो वर्ष ११ करोड रुपैयाँ पाउने छ । यसअघि नै निर्माण सम्पन्न गर्ने गरी आयोजनाको परिकल्पना गरिएको भए पनि कोभिड–१९ का कारण ढिलाइ भएको कार्यकारी निर्देशक ओलीले बताउनुभयो ।