
२०८० कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट रुकुम पश्चिममा प्रभावित सबैले अस्थायी आवासका लागि अझैसम्म पनि पहिलो किस्ता पाउन सकेका छैनन् । भूकम्प गएको १६ महिनासम्म पनि सबै प्रभावितले पहिलो किस्ता बापतकै अनुदान पाउन नसकेका हुन् ।
जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका अनुसार जिल्लामा कुल ३४ हजार ९ सय ९७ लाभग्राही कायम भएकामा २ हजार १ जना लाभग्राहीले पहिलो किस्ताकै रकम समेत प्राप्त गर्न सकेका छैनन् । जिल्लामा ३२ हजार ९ सय ९६ लाभग्राहीलाई पहिलो किस्ता वितरण भएको थियो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट विपत् पोर्टलमा इन्ट्री भएका जिल्लाका ३२ हजार ९ सय ९६ लाभग्राहीका लागि पहिलो र दोस्रो गरी दुवै किस्ता प्राप्त भएको थियो । त्यसमध्येमा जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोष मार्फत स्थानीय तहबाट ३१ हजार ८ सय ८१ लाभग्राहीलाई मात्र दोस्रो किस्ता वितरण भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो ।
आइतबारको जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले पछिल्लो पटक स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट रीतपूर्वक माग भई जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा माग हुन आएका १५ हजार ८ सय ८१ लाभग्राहीका लागि जिल्लाको कोषबाट स्थानीय कोषमा निकासा भएको ३९ करोड ९७ लाख २५ हजार रकमलाई अनुमोदन गरेको उहाँले बताउनुभयो ।
यसअघि १६ हजार लाभग्राहीका लागि २५ हजारका दरले ४० करोड निकासा भई वितरण भइसकेको थियो । यो संगै जिल्लामा कायम भएका ३२ हजार ९ सय ९६ लाभग्राही मध्ये ३१ हजार ८ सय ८१ लाभग्राहीले अस्थायी आवासका लागि पहिलो र दोस्रो दुवै किस्ता बापतको रकम प्राप्त गरेको उहाँको भनाई छ ।
जिल्लामा पहिलो किस्ता ३२ हजार ९ सय ९६ ले पाए, दोस्रो किस्ता पनि ३२ हजार ९ सय ९६ कै लागि आयो तर ३१ हजार ८ सय ८१ लाई मात्र दोस्रो किस्ता किन वितरण भयो भन्ने प्रश्नमा उहाँले भन्नुभयो–‘हो हामी कहाँ कायम भएका र प्राधिकरणको विपत् पोर्टलमा इन्ट्री भएका ३२ हजार ९ सय ९६ लाभग्राही नै हुन, पहिलो किस्ता पनि सबैलाई वितरण गरियो तर १ हजार १ सय १५ लाभग्राहीलाई भने विभिन्न संघसंस्थाले दोस्रो किस्ता बराबरको रकम दिएकोले हामी मार्फत दोस्रो किस्ता पाउने लाभग्राहीको संख्या केही घटेको हो ।’
२००१ प्रभावित कसरी छुटे ?
प्राधिकरणको विपत् पोर्टलमा इन्ट्री भएका सबै लाभग्राहीले पहिलो र दोस्रो दुवै किस्ता पाउँदा पनि जिल्लामा अझै २ हजार १ भूकम्प प्रभावित छुटेका छन् । उनीहरूले पहिलो किस्ता नै पाउन सकेका छैनन् । तोकिएको डेटलाइन भित्रै फाइल आएका तर केही ढिलो भएका कारण उनीहरू पोर्टलमा इन्ट्री हुन नसकेका कारण छुट्न गएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।
अहिलेसम्म उनीहरूलाई प्राधिकरणले चिन्न नसकेका कारण समस्या भएको र उनीहरूका विषयमा आइतबारको बैठकले निर्णय गरेको उहाँको भनाई छ । उहाँका अनुसार बैठकले पहिलो किस्ता नै पाउन नसकेका प्रभावितका हकमा दोस्रो किस्ता बापतको रकम निकासा भए पश्चात् बचत हुन आउने रकमलाई स्थानीय तहबाट सिफारिस भए बमोजिमको लाभग्राहीको संख्याका आधारमा समानुपातिक वितरण गर्ने निर्णय गरेको छ ।
साथै बैठकले अपुग रकम प्राधिकरण समक्ष माग गर्ने निर्णय पनि गरेको छ । छुटेका प्रभावित मध्ये सबैभन्दा बढी मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका रहेका छन् । जिल्लामा दोस्रो किस्ता बापतको बचेको रकम छुटेका लाभग्राहीलाई वितरणका लागि प्राधिकरणमा लेखि पठाउने तथा अनुमति आउने बित्तिकै वितरण सुरु गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।