
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा हुन लागेको तेस्रो संस्करणको ब्याडमिन्टन प्रतियोगिताको मिति परिवर्तन गरिएको छ । विभिन्न ५ विधामा दुई चरणमा खेल हुने गरी यसअघि तय भएको मिति सबै इभेन्ट एकै पटक सञ्चालन गर्ने गरी परिवर्तन गरिएको हो ।
जिल्ला ब्याडमिन्टन संघ रुकुम पश्चिमले यसअघि फागुन ९, १० र ११ गते वरियता बाहेकको पुरुष डबल्स अल नेपाल खुला, पुरुष डबल्स रुकुम जिल्ला स्तरीय खुला र महिला डबल्स रुकुम पश्चिम खुला महिला इभेन्टमा प्रतिस्पर्धा हुने गरी प्रतियोगिता आयोजना गरेको थियो ।
त्यस्तै संघले पुरुष डबल्स कर्णाली प्रदेश खुला र रुकुम पश्चिम जिल्ला स्तरीय १९ वर्ष मुनिको पुरुष एकल तर्फको प्रतिस्पर्धा चैत्र २१ र २२ मा गर्ने गरी मिति तय गरेको थियो । यसअघि १७ वर्ष मुनि उमेर समूहमा खेल खेलाउने गरी संघले तयारी गरे पनि उमेर समेत हेरफेर गरिएको छ ।
५ वटै इभेन्टमा एकै पटक प्रतिस्पर्धा गराउने गरी फागुन १४ देखि १६ गतेको नयाँ मिति तय गरिएको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढाले जानकारी दिनुभयो । प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि एउटै मितिमा प्रतियोगिता सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । प्रतियोगिता रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरास्थित मिनी कवर्ड हलमा सञ्चालन हुने छ ।
अल नेपाल खुला ब्याडमिन्टनको विजेता जोडीले ५२ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपविजेता जोडीले ३१ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सान्त्वना दुई जोडीलाई समान ११/११ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
रुकुम पश्चिम जिल्ला स्तरीय खुला पुरुष डबल ब्याडमिन्टनको विजेता जोडीले ३० हजार र उपविजेता जोडीले २० हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । सान्त्वना दुई जोडीले समान ५/५ हजार पुरस्कार पाउने छन् । त्यस्तै महिला तर्फको विजेता जोडीले १५ हजार, उप विजेताले ८ हजार र सान्त्वना जोडीले समान ३/३ हजार पुरस्कार पाउने जिल्ला ब्याडमिन्टन सङ्घका सचिव विशाल विष्टले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश खुला पुरुष डबल ब्याडमिन्टनको विजेताले ३२ हजार, उप विजेताले २० हजार र सान्त्वना हुने दुई जोडीले समान ६/६ हजार पुरस्कार पाउने सचिव विष्टले बताउनुभयो । दोस्रो चरणमै हुने रुकुम पश्चिम जिल्ला स्तरीय १९ वर्ष मुनिको पुरुष सिङ्गल ब्याडमिन्टनको विजेताले १५ हजार, उप विजेताले ८ हजार र सान्त्वना हुने दुई खेलाडीले समान ३/३ हजार पुरस्कार पाउने छन् । त्यस्तै सबै इभेन्टका एक/एक जना वेष्ट प्लेयरलाई २५ सय नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने आयाेजकले जनाएकाे छ ।