Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा यसवर्ष तीन करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री 
फाइल फाेटाे ।

रुकुम पश्चिममा यस वर्ष तीन करोड रुपैयाँ भन्दा बढीको सुन्तला बिक्री भएको छ । जिल्लाका छ स्थानीय तहबाट यस वर्ष ३ करोड ५ लाख  ७  हजार रुपैयाँ बराबरको सुन्तला विक्री भएको हो । जिल्ला भर कुल १ सय ६० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

१ सय ६० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने गरे पनि राम्रो उत्पादन भने १ सय ५ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको कृषि विकास कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी लालबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा सबैभन्दा बढी ६० प्रतिशत त्रिवेणी गाउँपालिकामा सुन्तला उत्पादन हुने गरेको छ । त्यस्तै आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, मुसिकोट नगरपालिकामा राम्रै उत्पादन हुने गरेको छ । भने चौरजहारी नगरपालिका र बाँफिकोट गाउँपालिकामा अन्य स्थानीय तहभन्दा सुन्तला उत्पादन कम हुने गरेको कृषि विकास कार्यालयका सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो ।

जिल्लामा ४ सय देखि ५ सय संख्यामा सुन्तला खेती गर्ने किसान रहेका छन् । सुन्तला विक्रीबाट प्रत्येक किसानले १० हजारदेखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । यस वर्ष उत्पादन भएको सुन्तला किसानले प्रतिकिलो ६० रुपैयाँका दरले बिक्री गरेका छन् । उत्पादन भएको सुन्तला स्थानीय बजार खलङ्गा, चौरजहारी र आठविसकोट तथा जिल्ला बाहिर सुर्खेत, दाङ, धनगढी लगायतका बजार क्षेत्रमा बिक्री भएको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ । सुन्तला बिक्रीको लागि बजारको समस्या नभएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update