
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा सञ्चालन भएको विद्यालय स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जिल्लाको आठबिसकोट नगरपालिकाको कालिका मावि प्रथम भएको छ ।
१० स्वर्ण, २ रजत र ४ कांस्य सहित कालिका मावि प्रथम भएको हो । त्रिवेणी गाउँपालिका २ को सिम्रुतु मावि २ स्वर्ण, ४ रजत र १२ कांस्य पदक सहित दोस्रो हुँदा राप्ती ज्ञानोदय मावि सिम्ली २ स्वर्ण, ३ रजत र १ कांस्य सहित तृतीय भएको छ ।
प्रतियोगितामा आठबिसकोट नगरपालिकाका ३ विद्यालय, मुसिकोट नगरपालिकाका २ विद्यालय, सानिभेरी गाउँपालिकाका ५ ओटा विद्यालय र त्रिवेणी गाउँपालिकाका एउटा विद्यालयका गरी जम्मा १२६ जना खेलाडी सहभागिता रहेको थियो ।
त्रिवेणी गाउँपालिका र जिल्ला तेक्वान्दो सङ्घको सहकार्यमा त्रिवेणी तेक्वान्दो डोजाङले प्रतियोगिता आयोजना गरेको हो ।