
रुकुम पूर्वमा पत्रकार तथा अन्य समूहहरूले स्थानीय सरकार तथा सरकारी कार्यालयहरूमा इन्धन सँगै आर्थिक सहयोग माग्न थालेको भन्दै नेपाल पत्रकार महासंघ रुकुम पूर्वले असन्तुष्टि जनाएको छ । आज महासङ्घले विज्ञप्ति जारी गर्दै केही वडाहरूबाट जिल्ला बाहिरका मिडिया तथा समूहले इन्धन असुली गरेको सूचना प्राप्त भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । यसरी अनधिकृत रूपमा जिल्ला प्रवेश गरी अनावश्यक गतिविधि गर्दै महासङ्घलाई कुनै जानकारी नदिई पत्रकारको आचारसंहिता विपरीत क्रियाकलाप गर्नु अत्यन्त आपत्तिजनक विषय हो, महासङ्घका सचिव नीराजन विश्वकर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस विषयमा नेपाल पत्रकार महासंघ, रुकुम पूर्वको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । यसअघि पनि यस्ता गतिविधिहरूले जिल्लामा अनावश्यक समस्या सिर्जना गरेको सन्दर्भमा महासंघ सबै सम्बद्ध निकाय तथा पत्रकारहरूलाई सतर्क रहन अनुरोध समेत गरेको छ । यदि कोही मिडिया प्रतिनिधि वा अन्य व्यक्तिहरू यस्ता गतिविधिमा संलग्न देखिएमा सम्बन्धित निकायलाई जानकारी गराइ उचित कानुनी प्रक्रिया अवलम्बन गर्न समेत महासङ्घले अनुरोध गरेको छ ।
पत्रकारिता मर्यादित, स्वतन्त्र र जिम्मेवार हुनुपर्नेमा महासंघ प्रतिबद्ध छ र यस्ता अनियमित क्रियाकलाप प्रति घोर आपत्ति जनाउँदै सबै पक्षलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दछ विज्ञप्तिमा भनिएको छ ।