
प्रियतम,
तिमीलाई सम्झिदा कति कति कविता लेखेको छु
तिमीलाई सम्झिदा कति कति सपना देखेको छु
कति रात अनिदो बिताएको छु
कति दिन बेफुर्सद कटाएको छु
हो प्रियतम तिमीलाई सम्झिदा
सम्झिदा कति कति प्याक सिध्याएको छु
कति कति हुक्का चिलिम रित्याएको छु
कति आँसु बगाएको छु
अनि कति कति सपना सजायको छु
हो प्रियतम तिमीलाई सम्झिदा
तिमीलाई सम्झिदा कति कति वाक्य फोरेको छु
तिमीलाई सम्झिदा कति कति शब्द कोरेको छु
लेखेका कविता भन्दा पनि बढी
देखेका सपना भन्दा पनि बढी
तिमीले मलाई छोडी गएकी छ्यौ
हो प्रियतम,
रित्याएको हुक्का चिलिम भन्दा पनि बढी
अनि सिद्ध्याएको प्याक बोतल भन्दा पनि बढी
मलाई मेरा आँसुले छोडी गएका छन्
कुनै दिन सधैँ लाग्ने बाडुल्की रोकियो भने
भन्ठान्नु सधैँलाई छोड्यो भनेर,
कुनै दिन मेरो याद भित्तामा ठोकियो भने
भन्ठान्नु सधैँलाई नाता तोड्यो भनेर
प्रियतम भुल्नकै लागि पनि त सम्झिनु पर्ने रहेछ
बिर्सनकै लागी भए पनि त सम्झिनै पर्ने रहेछ
आखिर !
अब,
नदीले किनारलाई जसरी होइन
पानीले इनारलाई जसरी होइन
चङ्गाले लट्टालाई जसरी होइन
अनि खेलले गट्टालाई जसरी होइन
बरु,
झरीले बादललाई जसरी
खरीले मादललाई जसरी
यात्रीले बाटोलाई जसरी
अनि ढुङ्गाले माटोलाई जसरी
मैले तिमीलाई भुल्नु छ
अनि भोलि बिहान सखारै उठेर
कसैको बगैँचामा फुल्नु छ
हो प्रियतम !
किरण राना मगर
रुकुम पश्चिम