Kakhara सबैको खबर सम्पूर्ण खबर
समिक्षात्मत बैठक : मठमा संचालन रहेका टिकट काउन्टर सल्ले बसपार्क सार्नुपर्ने, थप केके भयो निर्णय
सल्लेमा बन्दै गरेको बसपार्क भवन ।

यातायात व्यवस्थापन समिति रुकुम पश्चिमको समिक्षात्मक बैठक बसेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा  बजार क्षेत्रको पार्किङ व्यवस्थापनको समिक्षा गर्न बैठक बसेको हो ।  बैठकले  मुसिकोट नगरपालिका वडा नम्बर १  मठस्थित राप्ती राजमार्गको दायाँ-बायाँ सडक खण्डमा  रहेका यातायात काउन्टर र सवारी साधनलाई सल्ले बसपार्कमा राख्ने निर्णय गरेको छ  । 

मठमा अव्यवस्थित रुपमा सवारी साधन  पार्किङ्गले गर्दा दुर्घटना बढ्ने  हुँदा उक्त स्थानमा रहेका यातायात काउन्टर र सवारीसाधनहरूलाई सल्ले बसपार्कमा राख्ने  निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बैठकले नयाँ बसपार्क सञ्चालन गर्न पहुँचमार्गको समस्या देखिएकोले मुसिकोट नगरपालिका र शहरी विकास तथा भवन डिभिजन कार्यालयले सहकार्य गरी शीघ्र कार्यान्वयन गर्ने पनि निर्णय गरेको छ । त्यसै गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको स्कूल बसहरूको अनुगमन गर्ने समबन्धी पत्रमा उल्लेख भए अनुसार सजगता अपनाउन जिल्लास्थित सबै स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई, यातायात व्यवस्था सेवा कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई पत्राचार गर्ने निर्णय पनि भएको छ ।

बैठकले खलंगा बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा सुधार हुँदै गएकाले  यसलाई निरन्तरता दिने समेत  निर्णय गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  २२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update