
कर्णाली प्रादेशिक क्रिकेट संघकाे अब आफ्नै भवन भएको छ । नव निर्मित भवनको आइतबार उद्घाटन गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले रिबन काटेर भवनको उद्घाटन गर्नुभयो ।
भवन उद्घाटन गर्दै मन्त्री भण्डारीले कर्णालीमा क्रिकेट स्थापित हुँदै गएको बताउनुभयो । संघकाे आफ्नै भवन भएपछि अब संघकाे कार्य सञ्चालन गर्न सहज हुनुका साथै यसले कर्णालीको क्रिकेट विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले कर्णाली प्रादेशिक क्रिकेट संघकाे योगदानको चर्चा समेत गर्नुभयो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद् र प्रादेशिक क्रिकेट संघकाे संयुक्त लगानीमा वीरेन्द्रनगरकाे कालिन्चोक क्रिकेट मैदान परिसरमा ३ कोठे भवन निर्माण भएको कर्णाली प्रादेशिक क्रिकेट संघका सचिव श्रीधर केसीले जानकारी दिनुभयो । भवन उद्घाटन भएसँगै आइतबारबाटै भवन सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
भवन निर्माण भएसँगै कार्य सञ्चालनमा सहजता आउने उहाँको विश्वास छ । हालसम्म भाडाको कार्यालयबाट काम गर्दा विभिन्न समस्या भइरहेकामा अब सजिलो हुने उहाँको भनाई छ । यसले क्रिकेट विकासमा समेत टेवा पुग्ने उहाँले बताउनुभयो ।