
प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय छनोट सुरु भएको छ । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित कालिन्चोक क्रिकेट मैदानमा छनोट सुरु भएको हो । छनोटको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गर्नुभयो ।
छनोटमा कर्णाली प्रदेशका पाँच जिल्ला सुर्खेत, रुकुम पश्चिम, सल्यान, दैलेख र कालिकोटको सहभागिता रहेको छ । समूह चरणमा सबै जिल्लाले दुई वटा खेल खेल्ने छन् । फाइनल खेल फागुन १५ गते हुने छ । हरेक दिन दुई वटा खेल हुने कर्णाली प्रादेशिक क्रिकेट संघले जनाएको छ ।
छनोटमा गरेको प्रदर्शनीका आधारमा पिएम कपका लागि कर्णाली प्रदेशको टिम निर्माण गरिने प्रादेशिक क्रिकेट संघका सचिव श्रीधर केसीले जानकारी दिनुभयो । छनोटको उद्घाटन गर्दै मन्त्री भण्डारीले उत्कृष्ट टिम निर्माण गर्न सुझाव दिनुभयो । पिएम कप जित्ने गरी तयारी गर्न समेत उहाँले आग्रह गर्नुभयो । अब कर्णाली क्रिकेटमा अब्बल बन्दै गइरहेको भन्दै यो समग्र कर्णालीकै लागि गर्वको कुरा भएको समेत उहाँले बताउनुभयो ।
कर्णाली प्रादेशिक क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदम खड्काले कर्णाली क्रिकेट पूर्वाधारका अब्बल बन्दै गएको बताउनुभयो । केही समय अघिसम्म मैदानको अभावमा खेलाडीलाई अभ्यासका लागि अन्य प्रदेशमा पठाउनुपर्ने बाध्यता रहेकोमा हाल भने प्रदेशमै स्तरीय मैदान रहेका उहाँले बताउनुभयो । सागै उहाँले थप पूर्वाधारका लागि प्रदेश तथा संघीय सरकारलाई आग्रह समेत गर्नुभयो ।
यसैबिच छनोटमा सुर्खेतले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा सुर्खेतले दैलेखलाई पराजित गर्याे । भोली दुई खेल हुँदै छन् । पहिलो खेलमा रुकुम पश्चिम र दैलेख तथा दोस्रो खेलमा सल्यान र कालिकोट भिड्ने छन् ।