
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी प्रधानमन्त्री कप क्रिकेट कर्णाली प्रदेश स्तरीय छनोटमा रुकुम पश्चिमले विजयी सुरुवात गरेको छ । सुर्खेतको कालिन्चोक क्रिकेट मैदानमा भएको खेलमा रुकुम पश्चिम दैलेख विरुद्ध ५ विकेटले विजयी भएको हो ।
टस जितेर पहिले ब्याटिङ गर्दै दैलेखले २१ ओभर ५ बलमा अल आउट हुँदै ८५ रन बनाएको थियो । दैलेखलाई सस्तैमा समेट्न रुकुम पश्चिमका युनिशविक्रम सिंहले सर्वाधिक ६ विकेट लिए । ८५ रनको लक्ष पछ्याएको रुकुम पश्चिमले १५.१ ओभरमा ५ विकेट गुमाएर लक्ष पुरा गर्यो ।
रुकुम पश्चिमका लागि कुनाल रावलले ५३ रनको अर्धशतकीय पारी खेले । दैलेखका प्रकाश शाहीले २ विकेट लिएका थिए । ६ विकेट लिएका रुकुम पश्चिमका युनिशविक्रम सिंह प्लेयर अफ द म्याच घोषित भए । यो रुकुमको पहिलो जित हो भने दैलेखको लगातार दोस्रो हार हो ।
हिजो भएको पहिलो खेलमा दैलेख सुर्खेतसँग पराजित भएको थियो । छनोट अन्तर्गत अहिले सल्यान र कालिकोट बिचमा प्रतिस्पर्धा भइरहेको छ । छनोटमा ५ जिल्ला सुर्खेत, रुकुम पश्चिम, सल्यान, दैलेख र कालिकोट जिल्ला सहभागी छन् । सबै टिमले २ वटा खेल खेल्ने छन् । फाइनल खेल फागुन १५ गते हुने छ । २५ ओभरको खेल खेलाइएको छ ।