Kakhara सबैको खबर सम्पूर्ण खबर
पूर्व मन्त्री पुन र सभामुख घर्तीद्धारा रुकुम पूर्व र रोल्पामा अक्सिजनको व्यवस्था  

पूर्व उर्जा जलश्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले रुकुम पूर्व र रोल्पाका स्थानीय तहलाई अक्सिजन प्रदान गर्नुभएको छ । पूर्व मन्त्री पुन र सभामुख घर्तीको पहलमा रुकुम पूर्वका तीन वटा गाउँपालिका सिस्ने, भूमे र पुथाउत्तरगंगामा ४२ लिटरका तीन/तीन वटा अक्सिजन सिलिण्डर प्रदान गरिएको हो ।

यस्तै जिल्ला अस्पताल रोल्पाका साथै जिल्लाका परिवर्तन र थवाङ गाउँपालिकामा ४२ लिटरका दुई/दुई वटा अक्सिजन सिलिण्डर वितरण गरिएको सभामुख घर्तीका स्वकीय सचिव धु्रबविक्रम ओलीले जानकारी दिनुभयो । दुवै जिल्लामा कोराना संक्रमितहरु बढ्दै गएको अवस्थामा अक्सिजनको अभाव हुने सम्भावित जोखिमलाई मध्य नजर गरी पहिलो चरणमा अक्सिजन व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

अहिले देशका विभिन्न जिल्लामा कोरोना संक्रमितहरुलाई अक्सिजन दिएर उपचार गर्नु परिरहेको छ । धेरै ठाउँमा अक्सिजनको अभाव हुँदा कोरोना संक्रमितहरुले उपचारमा समस्या भइरहेको छ । रुकुम पूर्व र रोल्पामा पनि आउन सक्ने समस्या समाधानका लागि थप अक्सिजन र स्वास्थ्य सामग्रीहरु पनि पठाउने तयारी भैरहेको सभामुख घर्तीका स्वकीय सचिव ओलीले बताउनुभयो ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update