Kakhara सबैको खबर सम्पूर्ण खबर
फागुन २२ देखि चौथो चौरजहारी महोत्सव हुने

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा सांस्कृतिक महोत्सव हुने भएको छ । स्थानीय सहिद स्मृति कला संस्कृति संरक्षण केन्द्रको आयोजनामा वडा नम्बर २ को रङ्गशालामा चौथो बृहत् चौरजहारी कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८१ हुने भएको हो । महोत्सव फागुन २२ गतेबाट चैत्र ४ गतेसम्म सञ्चालन हुने मुसिकोटमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । 

कला, संस्कृति, कृषि, उद्योग व्यापार, चौरजहारी नगरपालिका समृद्धिको आधार भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको महोत्सवका निर्देशक एलबि कटुवालले जानकारी दिनुभयो । सहिद स्मृति कला संस्कृति संरक्षण मञ्चको संस्थागत विकासका लागि महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । चौरजहारीमा पहिलो महोत्सव भव्य रूपमा सम्पन्न भएको तथा दोस्रो महोत्सव कोरोना महामारी र तेस्रो महोत्सव जाजरकोट भूकम्पका कारण प्रभावित भएकामा यो पटक भव्य रूपमा महोत्सव सम्पन्न हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

यसअघि आयोजना गरिएका महोत्सव विभिन्न कारणले प्रभावित भएर लक्ष अनुसार हुन सकेन, यो वर्ष भने प्रकृतिले पनि हामीलाई साथ दिने विश्वास गरेका छौँ, महोत्सव भव्य हुन्छ, उहाँले भन्नुभयो । महोत्सवमा १ सय बढी व्यापारिक स्टलहरू रहने र स्थानीय व्यापारीलाई २० प्रतिशतसम्म छुट दिइने कटुवालले बताउनुभयो । त्यस्तै महोत्सवमा पल शाह लगायतका राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति समेत रहने उहाँले जानकारी गराउनुभयो । महोत्सव ३० हजार जनाले अवलोकन गर्ने लक्ष राखिएको आयोजकले जनाएको छ । 

महोत्सव आयोजक समितिका संयोजक राजु जिआरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष तुल देवकोटाले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update