Kakhara सबैको खबर सम्पूर्ण खबर
लगातार दोस्रो जितसँगै रुकुम पश्चिम प्रदेश छनोटको सेमिफाइनलमा 

सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा रुकुम पश्चिम सेमिफाइनल पुगेको छ । लगातार दोस्रो जितका साथ रुकुम पश्चिमले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । दोस्रो जीत हासिल गर्ने क्रममा रुकुम पश्चिमले आज कालिकोट विरुद्ध ३ विकेटको जीत हासिल गर्‍यो । टस जितेर पहिला ब्याटिङ गरेको कालिकोटले निर्धारित २५ ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।

कालिकोटलाई सस्तैमा समेट्न रुकुम पश्चिमका कप्तान ताराप्रसाद गिरीले ३ र युनिशविक्रम सिंहले २ विकेट लिए । १ सय ३० रनको लक्ष पछ्याएको रुकुम पश्चिमले २२.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष पुरा गरेको थियो । रुकुमका लागि सुशान्त विकले ३२, रमेश कामीले २६ र प्रतीक गिरीले १८ रनको योगदान गरे । रुकुम पश्चिमका कप्तान गिरी प्लेयर अफ द म्याच घाेषित भए । छनोटको सेमिफाइनल खेल भोली हुने छ ।

सेमिफाइनलमा पनि रुकुम पश्चिम र कालिकोट नै भिड्ने छन् भने अर्को सेमिफाइनलमा सुर्खेत र सल्यान भिड्ने छन् । फाइनल खेल फागुन १५ गते हुने छ । यस प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम निर्माण गरिने छ । छनोटमा सुर्खेत, रुकुम पश्चिम, सल्यान, कालिकोट र दैलेख गरी ५ जिल्लाले सहभागिता जनाएका छन् ।  

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update