
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १४ चाखलडाँडामा एक घर आगलागी भएको छ । आज विहान ११ बजेको समयम रुद्रबहादुर विष्टको दुई तले घर आगलागी भएको हो । आगलागीबाट विष्टको घर पुर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख सूचना अधिकारी ॠषि पाठक जानकारी दिनुभयो ।
उहाँका अनुसार विष्टको घरमा कोहि नभएको समयमा विद्युत लाइन सर्ट भएर आगलागी भएको खुलेको छ । आगलागीबाट १२ लाख ५० रुपैयाँ बराबरको क्षति भएको छ भने २ वटा गोरु, १८ वटा बाख्रा र ९० वटा कुखुरा मरेका छन । त्यसै घरमा रहेका लत्ताकपडा, अन्नपात, कागजात पनि जलेर नस्ट भएको उहाँले जानकारी दिनुभयो ।
प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण आइसकेको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । घाइते पशु चौपायाको उपचारको लागि मुसिकोट नगरपालिका पशु शाखाबाट प्राविधिक टोली घटनास्थल आइरहेको वडा कार्यालय जनाएको छ ।