
रमेश कामीको अलराउण्ड प्रदर्शनमा रुकुम पश्चिम कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता प्रदेश छनोटको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा कालिकोटलाई १ सय ४ रनले पराजित गर्दै रुकुम पश्चिम अपराजित रहँदै फाइनल पुगेको हो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको रुकुम पश्चिमले निर्धारित २५ ओभरमा ७ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । रुकुम पश्चिमका लागि रमेश कामीले अर्धशतकीय पारी खेले । ४७ बलको सामना गरेका कामीले ६९ रन बनाए । त्यस्तै राजेश रावलले ४२ र प्रतीक गिरीले १६ रनको योगदान गरे । बलिङ तर्फ कालिकोटका नवीन न्यौपानेले सर्वाधिक ४ विकेट लिए । विपिन शाहीले २ विकेट हात पारे ।
१ सय ६९ रनको लक्ष पछ्याएको कालिकोट १७ ओभर ४ बलमा सबै १० विकेट गुमाएर ६४ रनमै समेटियो । उसका लागि विपिन शाहीले १८ र नवीन न्यौपानेले १३ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कालिकोटलाई सस्तैमा समेट्न रुकुम पश्चिमका रमेश कामी र राजेन्द्र शाहीले समान ३–३ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका रुकुम पश्चिमका रमेश कामी प्लेयर अफ म्याच घोषित भए ।
समूह चरणमा रुकुम पश्चिमले दैलेख र कालिकोटलाई पराजित गरेको थियो । रुकुम पश्चिमले भोली फाइनलमा सुर्खेतको सामना गर्ने छ । आजै भएको पहिलो सेमिफाइनलमा सल्यानलाई पराजित गर्दै सुर्खेत पनि अपराजित रहेर फाइनल प्रवेश गरेको हो । यस प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम तयार पारिने छ ।