Kakhara सबैको खबर सम्पूर्ण खबर
गाउँ गाउँ पुगेर वडावासीको स्वास्थ्य जाँच 

कोरोना संक्रमण दर बढेपछि रुकुम पश्चिममा गत वैशाख १९ गतेदेखि निषेधाज्ञा जारी छ । पहिलो पटक १९ गतेदेखि जारी निषेधाज्ञा वैशाख ३१ जारी गरिएकामा कोरोना संक्रमण थप फैलिदो क्रममा रहेपछि प्रशासनले पुनः एक साता थप गर्दै जेठ ७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको छ । जिल्लामा अनावश्यक हिडडुल तथा अत्यावश्यक बाहेकका सेवामा रोक लगाईएको छ । स्थानीय तह तथा अन्य सरकारी कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहरु पनि कोरोनाबाट अछुतो हुन नसक्दा सम्बन्धित स्थानीय तह र सरकारी कार्यालयहरुको सेवा समेत बन्द गर्ने गरिएको छ । 

कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रशासनले निषेधाज्ञा जारी गरेको अवस्थामा मुसीकोट नगरपालिका ९ भने वडावासीको घर दैलोमा पुगिरहेको छ । वडाले ‘आफ्नो गाउँ आफैं बचाऔं’ अभियान चलाएको छ । यो अभियान अन्तरगत अहिले वडाध्यक्ष नबिन ओली स्वास्थ्यकर्मी र विभिन्न औषधि लिएर वडाका गाउँ गाउँमा पुगिरहनुभएको छ । अभियानको तेस्रो तरणको कार्यक्रम अन्तरगत वडाले गाउँ गाउँमा पुगेर वडावासीको स्वास्थ्य जाँच गर्ने कार्यक्रम तय गरे अनुसार यतिबेला वडाध्यक्ष नेतृत्वको टोली गाउँ गाउँमा पुगिरहेको छ । टोलीमा रहेका स्वास्थ्यकर्मीले स्वास्थ्य सुरक्षा अपनाएर वडावासीको स्वास्थ्य जाँच गरिरहेका छन् । भने वडावासीलाई स्वास्थ्य समस्याका आधारमा औषधि तथा परामर्श दिईरहेका छन् । 

निषेधाज्ञाका कारण वडावासीहरु घरमै रहेको र महामारीको घडिमा उनिहरुमा विभिन्न स्वास्थ्य समस्या हुने भएकाले गाउँ गाउँमै पुगेर निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरणका साथै परामर्श गरिरहेको वडाध्यक्ष ओलीले बताउनुभयो । कोरोना बाहेकका अन्य समस्या देखिने तथा दीर्घ रोगिहरुले नियमित स्वास्थ्य जाँच गराउन नपाएको र औषधि नपाईरहेको अवस्थालाई मध्यनजर गर्दै सबै वडावासीको स्वास्थ्य जाँच भइरहेको उनि बताउँछन् । ‘धेरै वडावासीहरुले विभिन्न दीर्घ रोगको औषधि सेवन गरिरहेका छन्, कतिमा मौसमी रोगहरु समेत देखिन थालेको छ, कोरोनाका डरले स्वास्थ्य संस्थामा पुग्ने अवस्था छैन्, उहाँले भन्नुभयो–त्यस कारण हामीले गाउँ गाउँमा पुगेर सबै वडावासीको स्वास्थ्य जाँच र उपचार गर्दै छौं ।’ 

कोरोना संग मिल्दा जुल्दा लक्षण भएका बिरामीहरु पनि गाउँ गाउँमा बढ्न थालेको उहाँले बताउनुभयो । उनिहरुको पनि अक्सिजन लेवल मापनका साथै अन्य जाँच र घरमै वसेपनि हुने खालका व्यक्तिलाई घरमै वस्ने भन्ने गरेको र स्वास्थ्य संस्थामा आउँनुपर्ने बिरामीहरुलाई स्वास्थ्य संस्थामा जान सुझाव दिईरहेको वडाध्यक्ष ओलीले बताउनुभयो । गाउँको कुनै पायक पर्ने ठाउँमा बोलाएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर वडावासीको स्वास्थ्य जाँच र उपचार भइरहेको उहाँ बताउनुहुन्छ । केहि बिरामीलाई भने घर घरै पुगेर पनि उपचार गर्ने गरिएको छ । 

यो टोलीमा वडाध्यक्ष ओली सहित चौखावाङ स्वास्थ्य चौकी इन्चार्ज शसिराम केसी, सम्बन्धीत टोलका वडा सदस्यहरु रहेका छन् । अक्सीमिटर, थर्मल गण, स्वास्थ्य चौकीबाट पाईने १९ प्रकारका सामग्री र मेडिकलबाट खरिद गरेर औषधि समेत लिईएको छ । अहिलेसम्म १ सय बढीको उपचार भएको वडाले जनाएको छ । वडाका अनुसार गाउँमा ज्वरो, रुघा, खोकी, रिगाँटा लाग्ने, अल्छि लाग्ने जस्ता समस्या भएका बिरामीहरु भेटिइरहेका छन् । स्वास्थ्य जाँच केहि दिन चल्ने बताईएको छ ।  

वडाले विभिन्न व्यक्ति तथा संस्था र समुहबाट सहयोग जुटाएर संचालन गरिरहेको ‘आफ्नो गाउँ आफैं बचाऔं’ अभियानको पहिलो चरणमा वडाका टोल टोलमा कोभिड–१९ व्यवस्थापन समिति गठन गरेर कोरोना भाईरस सम्बन्धी सचेतना फैलाउने काम भएको थियो । दोस्रो चरणमा वडाले करिब ८५ हजार बराबरका मास्क र साबुन घर घरै पुगेर वितरण गरेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update