Kakhara सबैको खबर सम्पूर्ण खबर
मेलगैरी सामूहिक हत्या काण्ड: `सुराकीको आधारमा राज्य पक्षबाट ६ जना निर्दोष व्यक्तिको हत्या´
कार्यक्रम सहभागी ।

माओवादीले जनयुद्ध सुरु गरेको फागुन १ गते २९ वर्ष पूरा भएर ३० वर्ष पुगेको छ । तर अहिले सम्म सहिद परिवारले न्याय नपाएको गुनासो गरेका छन् । ती मध्यको सामूहिक हत्या काण्डको पहिलो घटना हो रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ मेलगैरी हत्या काण्ड । जहाँ एउटै घरमा सुतिरहेका छ जना खत्रीबन्धुको राज्य पक्षबाट सामूहिक हत्या भएको थियो ।

आजकै दिन फागुन १५ गते  स्थानीय केही व्यक्तिको सुराकीको आधारमा राज्य पक्षले निर्दोष व्यक्तिलाई  सामूहिक हत्या गरेको सम्झिनु हुन्छ सहिद परिवार समाज बाँफिकोटका अध्यक्ष धनबहादुर खत्री । `यो रुकुम बासीको लागि निकै दर्दनाक घटना हो, केही काँग्रेस निकट युवाहरूले प्रहरीलाई खबर गरी निर्दोष व्यक्तिलाई हत्या गर्न लगाए, ती घटनामा संलग्न तथा हत्या गर्न लगाउने व्यक्ति अहिले पनि जीवितै छन्´ उहाँले भन्नुभयो । हत्या गर्न लगाउने मात्र नभई ती व्यक्तिले  पहिले आफैँले  कुटपिट गरेर घाइते बनाएको समेत उहाँले बताउनुभयो । खत्री उक्त घटनामा सहिद खड्कबहादुर केसीको बुवा समेत हुनुहुन्छ ।

मेलगैरीमा राज्यको तर्फबाट आक्रमण हुँदा एकै घरमा मारिनेमा  खत्री परिवारका ६ जना २४ वर्षीय पशुपति केसी, २५ वर्षीय लालबहादुर केसी, २५ वर्षीय दलबहादुर केसी, २५ वर्षीय कलबहादुर केसी, २५ वर्षीय मनबहादुर केसी र १५ वर्षीय खड्कबहादुर केसी हुनुहुन्थ्यो । घर मालिक जोखबहादुर खत्रीलाई पनि प्रहरीले गोली हान्यो तर उहाँ बाच्न सफल हुनुभयो  ।

`१५ गते बिहान भैँसी दुहुन निस्केको समयमा इलाका प्रहरी कार्यालयबाट प्रहरी  टोली सहित केही काङ्ग्रेस निकट युवाहरू मेरो घरमा आए, मलाई पनि मार्न खोजेका थिए, गोली हाने तर  म भागेर बाच्न सफल भए खत्रीले भन्नुभयो ।´  प्रहरी र केही काङ्ग्रेस निकट व्यक्तिबाट ती निर्दोष व्यक्ति मारिनु पर्‍यो उनी माओवादी थिएनन्, सर्वसाधारण व्यक्ति थिए खत्रीले भन्नुभयो ।

ती निर्दोष व्यक्ति हत्या गर्नेलाई कारबाही हुनुपर्ने सहिद परिवारले माग राखेका छन् । तत्कालीन पिपल गाविसको ७ नम्बर वडाको मैलगैरीमा भएको उक्त घटनामा चार जनालाई गोली हानेर र दुई  जनालाई कुटिकुटी यातना दिएर मारिएको पीडित परिवारको भनाइ छ । सामूहिक हत्या काण्ड भएको सम्झनामा आज सहिद समाज परिवार बाँफिकोट गाउँपालिका र माओवादी केन्द्र दुई नम्बर वडा समितिले भेटघाट तथा श्रद्धाञ्जली सभा आयोजना गरेका थिए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्तकुमार शर्माले लामो समय भइसक्दा पनि  सहिद परिवारले न्याय पाउन नसकेको बताउनुभयो । जनयुद्धमा बलिदान गर्नेहरूको योगदानको स्मरण उहाँले अब गर्दै नयाँ विचार स्थापित गर्ने ऐतिहासिक परिस्थिति रहेको बताउनुभयो ।  पार्टीको तर्फबाट  पीडित परिवारलाई न्याय दिलाउन लागिपरेको समेत उहाँले बताउनुभयो ।

`सहिदहरूको बलिदानकै कारण मुलुकमा व्यवस्था परिवर्तन भएको हो, उहाँहरूको बलिदानको उच्च महत्त्व छ ´ सहिदकै कारण हामी यो अवस्थामा पुगेका छौँ ´ शर्माले भन्नुभयो । सहिदहरूको सपना पूरा गर्न माओवादी पार्टी कहिल्यै नचुक्ने समेत  उहाँको भनाइ थियो । 

सामूहिक हत्या भएको मेलगैरीमा युद्ध संग्रहालय निर्माण गर्नुपर्ने,  हत्या भएको घर जीर्ण बन्दै गएकाले  संरक्षणको लागि पहल गर्नुपर्ने, सहिदको सम्झनामा पार्क तथा सालिक निर्माण गर्नुपर्ने सहिद परिवारले माग राखेका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update