
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मेलगैरीमा माओवादीका नेता तथा कार्यकर्ताले सहिद परिवारसँग भेटघाट गरेका छन् । बिहीबार केन्द्र, प्रदेश, जिल्ला तथा पालिका स्तरका नेताले सहिद परिवारका सदस्यलाई भेटघाट तथा सहिदप्रति श्रद्धा सुमन व्यक्त गरेका हुन् । २०५२ साल फागुन १५ गते राज्य पक्षबाट ६ जना खत्रीबन्धुहरूको सामूहिक हत्या भएको सम्झनामा सहिद परिवार समाज बाँफिकोट गाउँपालिका र माओवादी केन्द्र दुई नम्बर वडा समितिले मेलगैरीमा सहिद परिवारसँग भेटघाट तथा सहिदप्रति श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा राज्य पक्षबाट सामूहिक हत्या गरिएका खत्री परिवारका ६ जना २४ वर्षीय पशुपति केसी, २५ वर्षीय लालबहादुर केसी, २५ वर्षीय दलबहादुर केसी, २५ वर्षीय कलबहादुर केसी, २५ वर्षीय मनबहादुर केसी र १५ वर्षीय खड्कबहादुर केसीको फोटोमा नेता तथा सर्वसाधारणले सम्मान स्वरूप अबिर आवरण तथा माल्यार्पण गरेका थिए । सोही कार्यक्रममा सहिद परिवारले सन्तान गुमाएको लामो समयसम्म न्याय नपाएको गुनासो गर्दै न्यायको माग गरेका थिए ।
सहिद परिवार समाज बाँफिकोट गाउँपालिका अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) २ नम्बर वडा अध्यक्ष धनबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रम पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्तकुमार शर्माको प्रमुख आतिथ्यता रहको थियो ।
त्यसै गरी कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय निर्वाचन समिति सदस्य देवीलाल गौतम, धर्मबहादुर केसी, कलबहादुर नाथ, प्रदेश समिति सदस्य इन्दिरा बिएम नाथ, चन्द्रबहादुर केसी, मनबहादुर वादी, मुसिकोट नगर पार्टी अध्यक्ष दलबहादुर खड्का, बाँफिकोट पार्टी अध्यक्ष दक्ष पुन, नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका प्रचार विभाग प्रमुख मेगराज खड्का, बाँफिकोट गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी, पत्रकार लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टी वडा सचिव कर्णबहादुर खत्रीले गर्नुभएको थियो ।