चुनवाङ । चुनवाङको चर्चा सेलाएको छ । दश बर्षे जनयुद्धका क्रममा बेस्सरी चर्चा कमाएको यो ठाउँ पछिल्ला केही बर्ष गुमनाम जस्तै छ । जनयुद्धको आखिरी समयमा चर्चित भएको चुनवाङ शान्ति स्थापना पछि किन सुनसान छ । किन गुमनाम हुन खोजेको छ । सशस्त्र जनयुद्धको बाटो फेर्ने चुनवाङ आफै कति फेरियो होला । प्रश्नहरु बग्रल्ती छन् । चासोहरु बढिरहेका छन् । सोधिखोजि जारी छ । तर पनि चुनवाङको चर्चा पछिल्लो पटक फिटिक्कै छैन । संघीयतापछि चुनवाङलाई लुम्बिनी प्रदेश, नयाँ बनेको रुकुम पूर्व जिल्ला र भूमे गाउँपालिकामा पारिएको छ । साविकका काँक्री, मोरावाङ, काँडा, महत र चुनवाङ गाविस मिलाएर भूमे गाउँपालिका बनाइएको छ । यही भूमेको ९ नम्बर वडा बनेको छ, चुनवाङ । अरु गाविस दुई वडामा विभाजन भए । तर चुनवाङ ढिक्कै छ । चुनवाङलाई एउटै वडा बनाइएको छ ।
चुनवाङ पहिलेको जस्तै एक ढिक्का छ । एउटै छ । चर्चा नभएपनि चुनवाङ आफ्नो गतिमा हिडिरहेको छ । यो गुमनाम हुन मानिरहेको छैन । यो चालमा छ । चुनवाङ चालमा नभएपनि चलिरहेको छ । विकासमा चलिरहेको छ । शिक्षा सुधारमा चलिरहेको छ । सामाजिक, साँस्कृतिक रुपान्तरणमा चलिरहेको छ । अर्थोपार्जनको विकल्प खोज्न चुनवाङ व्यस्त छ । चुनवाङीलाई आयआर्जनमा बलियो बनाउने अभियानको डोरीमा बाँध्ने अभियानको माला उन्न चुनवाङ लागि परेको छ । पहिलोको ९ वटा वडाको गाविस हाल १ वडा छ तर सबैलाइै जोडिने गरी १८ टोल जुटिरहेका छन् । लागिरहेका छन् । समृद्ध चुनवाङ बनाउने अभियानमा १८ टोल र वडा कार्यालय, भूमे गाउँपालिका सयुंक्त अभियानमा छन् । यस अभियानमा प्रदेश र संघीय सरकार पनि सहयोगी बनेका छन् । गैरसकारी संघ संस्थाले पनि आड लगाइरहेका छन् ।
अरु भौतिक विकास भइराख्छन् । यि पूरा हुने विषय पनि होइनन् । एउटा पूरा हुँदा अरु माग आउँछन् ।
हरेक करोड बढी बजेट परिचालन भइरहेको छ । करोड बढिका विकासका काम भइरहेका छन् । २०७४ असार १४ मा स्थानीय तहको निर्वाचन भयो । त्यसपछि नै यहाँ काम गर्ने तौरतरिका बदलियो । विकास निर्माणमा सबै केन्द्रीत भए । यसको नेतृत्व प्रवेश पुनको हातमा छ । तत्कालिन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर चुनावी मैदानमा आएका पुन वडाध्यक्षमा निर्वाचित हुनुभयो । हाल पुनकै नेतृत्वमा विकास, निर्माण, आर्थिक उत्पादन तथा सामाजिक सचेतना लगायतका अभियान चुनवाङमा चलिरहेका छन् । जनयुद्धको क्रममा अरु अरु काममा व्यस्त हुने पुन पछिल्लो तीन बर्ष यता चुनवाङको विकासमा र विकास कसरी गर्न सकिन्छ भन्ने मन्थनमा हुनुहुन्छ । आर्थिक बर्ष २०७४/०७५ यता बजेट आउने विधि र बजेटको भोलुम बढेको छ । चुनवाङका लागि भूमे गाउँपालिकाले ४ आर्थिक बर्षमा २ करोड ९२ लाख अनुदान प्रदान गरेको छ । प्रदेश तथा संघ सरकारबाट विशेष गरी सडक निर्माणमा झण्डै ५० करोड बढी बजेट चुनवाङको नाममा देखिन्छ । पालिका जोड्ने सडक, जिल्ला जोड्ने सडक, अन्तर पालिका, अन्तर जिल्ला तथा अरु विभिन्न सडकमा उक्त बजेट विनियोजन भएको छ । कति बजेटको काम भइसकेको छ भने कति बजेट परिचालनको क्रममा छ । चुनवाङको नाम जोडिएर सडकमै विभिन्न शीर्षकमा बजेट आइरहेको छ ।
सबै घरमा बत्ति
स्थानीय तहको निर्वाचनको क्रममा चुनवाङका सबै घरमा विजुली बाल्ने घोषणा गरिएको थियो । यस अवधिमा आइपुग्दा चुनवाङका ६ सय ७२ घरधुरीमा विजुली बलेको छ । पछिल्लो पटक मात्रै १ सय १६ घरमा विजुली बलेको हो । स्थानीय स्तरमै उत्पादित विद्युतबाट सबैतिर विद्युतिकरण गरिएको छ भने घरघरमा विजुली बलेको छ । गाउँपालिकाबाट प्राप्त अनुदानले विद्युत विस्तार तथा मर्मतको काम गरी सबैतिर विजुली बालिएको वडाध्यक्ष पुनले बताउनुभयो । चुनवाङमा २१ किलोवाट विद्युत उत्पादन क्षमताको चुनवाङखोला लघु जलविद्युत आयोजना, ९ किलोवाट उत्पादन क्षमताको लाखरखोला लघु जलविद्युत आयोजना र ९ किलोटा विद्युत उत्पानद क्षमताको चुनेलाखोला विद्युत आयोजना छन् । यसैगरी ३ किलोवाट विद्युत उत्पादन क्षमताको खैरेखोला र छहरखा खोलामा विद्युत उत्पादन भइरहेको छ । चुनवाङका सबै १८ वटै टोलका घरघरमा यीनै विद्युत आयोजनाको विजुली बलिरहेको छ । यसमा सर्वसाधारणको श्रम तथा आर्थिक लगानी र बैकल्पिक उर्जा प्रद्र्धन केन्द्रको आर्थिक अनुदान पनि छ ।
सबैतिरबाट सडक
चुनवाङ सबैतिरबाट सडकमा जोडिएको छ । स्थानीय तहको चुनाव अघि दाङबाट चुनवाङसम्मको सडक निर्माण भएको थियो । शहिद मार्ग भएर गाडिहरु चुनवाङ पुग्थे । अब भने चुनवाङबाट भूमे गाउँपालिका कार्यालयसम्म सडक बनेको छ । चुनवाङका धेरै टोल सडकमा जोडिएका छन् । १८ मध्य ५ टोल बाहेक अरु टोलमा सडक पुगेको छ । बाँकी टोलमा पनि छिट्टै सडकबाट जोडिने वडाध्यक्ष पुनले जानकारी दिनुभयो । सदरमुकाम जोडिने तथा जिल्लाका माथिल्लो भेगमा जोड्ने सडक पनि निर्माण थालिएको छ । गैरीगाउँ–सिमचौर, गैरीगाउँ–च्याङचुङ सडक निर्माण जारी छ । गैरीगाउँ–तीन बहिनी लेक पदमार्ग निर्माणको काम पनि भइरहेको छ । सदरमुकाम रुकुमकोट जोड्ने सडक निर्माणको काम भइरहेको छ । हाल चुनवाङका केही स्थानीय मात्रै ३० मिनेट पैदल यात्रा हिड्दा गाडि भेटाउछन् । अब यी सडकलाई बाह्रै महिना बनाउने गरी योजना बनाइएको वडाध्यक्ष पुनले बताउनुभयो ।
शिक्षालाई प्राथमिकता
चुनवाङमा ७ विद्यालय छन् । एउटा माध्यामिक र अरु आधारभुत विद्यालय । हरेक विद्यालयमा कुनै न कुनै सुधारका काम सुरु भएका छन् । शिक्षाको गुणस्तर सुधारको लागि भनेर भौतिक संरचना बनाउने, अरु व्यवस्थापन गर्ने तथा जनशक्ति व्यवस्थापनको काम भइरहेको छ । शिक्षा व्यवहारीक बनाउँदा नै समग्र विकास हुने निष्कर्ष सहित वडापालिका लागि परेको वडाध्यक्ष पुनले बताउनुभयो । मदन स्मृति आधारभुत विद्यालय डाँडागाउँ, आधारधुत विद्यालय खामा नयाँ भवन बनाइएको छ । मावि चुनवाङमो २ भवन बनेका छन् । आधारभुत विद्यालय सिमचौर, गोठिवाङ, दुवाचौर, डाँडागाउँ र खालमा बालमैत्री कक्षा व्यवस्थापन गरिएको छ । मावि चुनवाङ संघीय सरकारबाट नमूना विद्यालय परेको छ । यसको विस्तृत परियोजना प्रतिवेदन तयार हुँदैछ ।
गाउँपालिका अस्पताल
समग्र गाविसलाई नै वडा बनाइएको छ । चुनवाङमा गाउँपालिका अस्पताल बन्न थालेको छ । १५ शैøयाको अस्पताल चुनवाङमै बनाउने निर्णय गाउँ कार्यपालिकाले गरेको छ । यसै अनुसार साविकको स्वास्थ्य चौकी भएको ठाउँमा अस्पताल निर्माणको काम सुरु भएको वडाध्यक्ष पुनले बताउनुभयो । चालु आर्थिक बर्षको बजेटमा ५ शैøयाको बनाउने र त्यसका लागि ७० लाख बजेट आएको छ । यो बजेटबाट पूर्वाधारको काम गरिने वडाध्यक्ष पुनले जानकारी दिनुभयो । वडाले मातृ,शिशु कार्यक्रमदेखि लिएर कोरोना रोकथाम नियन्त्रणमा सचेतनामूलकको साथै विभिन्न सामग्री समेत वितरण गरेको थियो ।
खानेपानीको सहजता
चुनवाङका १८ टोल खानेपानीको सहजतामा पुगेका छन् । सबैको घरघरमा खानेपानीका धारा नबनेपनि टाढाबाट खानेपानी बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । कति घरमा घरघरै धारा छन् भने धेरै ठाउ“मा पानीको सहज उपलब्धता छ । ससानादेखि ठूला खानेपानीका योजना निर्माण भएको छन्, कति बन्ने क्रममा छन् । चुनवाङमा सबभन्दा ठूलो खानेपानी योजना निर्माणको क्रममा छ । बाहुनगाडिनामा २ करोड ८५ लाखको लगानीमा लिफ्ट प्रविधिको सिचाई योजना निर्माणको क्रममा छ । गत आर्थिक वर्षदेखि सुरु भएको यो योजना क्रमागत योजना हो । यसको साथै वडाका विभिन्न १२ वटा खानेपानी योजना निर्माण तथा मर्मत भएका छन् । तिलखोला खानेपानी योजना, चन्दने मर्कोटा खानेपानी योजना, सिमलबोट घट्टेखोला खानेपानी योजना निर्माण भएका छन् । यस्तै मालुवाखोला खानेपानी योजना, पूर्वाभीर खानेपानी योजना, ढ्याग्रो मोड्ने खानेपानी योजना र एक्ले ओखर खानेपानी योजना पनि निर्माण भएको छन् । यसैगरी चोरबाटे खानेपानी योजना, विजौरा खानेपानी योजना, भालुहुला खानेपानी योजना र श्रीधारा खानेपानी योजना बनेका छन् । चालु आर्थिक वर्षमा ४ वटा खानेपानी योजना निर्माणको सूचीमा छन् ।
उत्पादनले मात्रै समृद्धि सम्भव
वडाध्यक्ष पुनले तीन वर्ष वडामा काम गरिसक्नुभयो । अब २ बर्ष कार्यकाल बा“की छ । तीन बर्षको अनुभवले अब उत्पादनमा केन्द्रीत भएमात्रै हरेक घरमा समृद्धि आउने देखिएको वडाध्यक्ष पुनको भनाई छ । अरु भौतिक विकास भइराख्छन् । यि पूरा हुने विषय पनि होइनन् । एउटा पूरा हुँदा अरु माग आउँछन् । यसैले भौतिक पूर्वाधारको साथै अब सबैलाई उत्पादनमा जोड्ने योजना वडाको छ । विशेष गरी कृषि र पशुपालनमा जोड्ने र त्यसबाट सबैलाई समृद्धितर्फ लैजाने चाहना अनुसारका ससाना काम पनि गरिएको छ । लसुन, कागती, ओखर, बाख्रा पालन नै चुनवाङको मुख्य आम्दानीको आधार हुन सक्ने वडाध्यक्ष पुनको भनाई छ । यसका लागि किसानलाई वडाले प्रेरित पनि गरिरहेको छ । लसुन लगाउन अभिप्रेरित गर्न वडाले किसानले उत्पादन गरेको लसुन आफै खरिद गरिदिएको थियो । खरिद गरेकोमध्य आधा लसुन पनि विक्री नभएर वडाले नै खेर फालेको थियो ।
माओवादीले उक्त बैठकबाट २ वटा राजनीतिक निर्णय र २ वटा फौंजि लक्ष किटान गरेको थियो ।
त्यसपछिका बर्ष किसानले लसुनबाट मनग्यै आम्दानी गर्न थालेका छन् । दाङबाट व्यापारी आएर लसुन लिन थालेका छन् । बारीमा खडा बालीको रुपमा लसुन छ । झण्डै ४० क्वुइन्टल लसुनको बीउ लगाइएको छ । यसलाई व्यापक विस्तारका लागि वडाले बीउ वितरण तथा परामर्श सेवा प्रवाह गरिरहेको छ । कागती र ओखर पनि वितरण भइरहेको छ । वडा कार्यालयले किसानलाई कागती र ओखरका विरुवा निःशुल्क वितरण गरिहेको छ । यसका लागि वडामा वनस्पती र तरकारीको दुई वटा नर्सरी समेत स्थापना गरिएको छ । यसबाट किसानलाई सस्तोमा विरुवा उपलब्ध गराउन सकियो भन्ने उद्देश्य राखिएको वडाध्यक्ष पुनले बताउनुभयो । ठाउ“ठाउ“मा बोयर बोका वितरण गरिएको छ । यसबाट उन्नत जातका बाख्रा र बोका उत्पादन गरी आम्दानी गर्न सकिने भनाई वडाध्यक्ष पुनको छ । अबको मुख्य प्राथमिकता भनेकै उत्पादन र त्यसमा सबैलाई जोड्ने गरी योजना बनाइएको छ ।
भेरीडाँडाको बल्ल डिपिआर
भेरीडाँडा । भेरीडाँडा चुनवाङको चर्चित ठाउँ हो । सशस्त्र युद्ध गरिरहेको तत्कालिन नेकपा माओवादीको विस्तारीत केन्द्रीय बैठक भेरीडाँडामै भयो । भेरीडाँडाकै कारण चुनवाङ चर्चामा आएको हो । गैरीगाउँ भन्दा एक घण्टा पैद यात्रापछि भेटिने भेरीडाँडा चुनवाङको मुख्य आकर्षक स्थल हो । तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध त्यागेर शान्ति स्थापनामा जाने निर्णय गरेको बैठक भेरीडाँडामै बसेको थियो । माओवादीले नै ऐतिहाँसिक भनेको उक्त बैठक २०६२ साल असोजमा बसेको थियो । माओवादीले उक्त बैठकबाट २ वटा राजनीतिक निर्णय र २ वटा फौंजि लक्ष किटान गरेको थियो । बैठकले संविधान सभा र लोकतान्त्रिक गणतन्त्रको नाराका आधारमा मिल्न सक्ने जति शक्तिसंग मिलेर राजतन्त्र विरोधी आन्दोलनलाई व्यापक र सशक्त तुल्याउन प्रयत्न गर्नु । आम विद्रोहको कुनै पनि सम्भावनालाई पकड्न वैचारिक, राजनैतिक र सांगठनिक तयारी बढाउने प्रयत्न गर्नु राजनीतिक नारा थिए । भने पार्टी, सत्ता, जवसका आम कार्यकर्ता र जनतालाई व्यापक फौंजिकरण गर्न प्रयत्न गर्नु । जनमुक्ति सेनाको अर्को चार डिभिजन थप्ने लक्ष पूरा गर्न जोड लगाउनु उक्त बैठकका फौंजी लक्ष थिए ।
यही हिसाबले भेरीडाँडा चुनवाङको पनि विशेष ठाउँ हो । यहाँ जनयुद्धका सबै गतिविधि झल्किने तथा यो बैठकको दृश्य देखिने गरी संग्राहलय बनाउने तयारी गरिएको छ । बैठक बसेको तथा नेताहरु बसेका घर खरिद गरिसकिएको छ । पैदल हिड्ने सिढी तथा सडक निर्माणको काम पनि सकिसकेको छ । गैरीगाउँबाट भेरीडाँडासम्मको सडक निर्माण भइसकेको छ । शान्ति स्थापनापछि भेरीडाँडामा विभिन्न काम हुँदै आए । तर त्यसका विस्तृत परियोजना प्रतिवेदन अर्थात डिपिआर भने बनेको थिएन । डिपिआरविनै काम गर्दा के गर्ने अन्यौलता कायमै रहेकाले अब डिपिआर बनाउने गरी योजना बनाइएको वडाध्यक्ष पुनले बताउनुभयो । डिपिआरका लागि चालु आर्थिक बर्षमा ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । उक्त बजेटबाट बन्ने डिपिआरले भेरीडाँडामा कस्तो संग्राहलय बन्छ वा व्यवस्थापन हुन्छ भन्ने निक्र्योल हुने वडाध्यक्ष पुनले बताउनुभयो । यस अघि पनि भेरीडाँडामा प्राप्त बजेटबाट विभिन्न संरचना बनेका छन् ।
पूरा हुने क्रममा मुख्य बाचा
स्थानीय तहको निर्वाचनमा मुख्य तीन बाचा सहित अध्यक्ष पुन नेतृत्वमा उम्मेदवारी दिएर प्रचार प्रसार थालिएको थिए । ती थिए, विद्युत, सिमचौरसम्मको सडक निर्माण तथा फोनको पहुँच सबैतिर पुर्याउने । यसमध्यमा २ बाचा पूरा भइसकेका छन् । चुनवाङका सबै घरमा विजुली बलेको छ । सिमचौरसम्म सडक पुगिसकेको छ । यद्यपी त्यो बाह्रै महिना सञ्चालनमा आउन भने सकेको छैन । यसैले अब बाचामध्यको सबैतिर सजिलै फोन लाग्ने अवस्था अँझै छैन । यसैले यसका लागि लागिरहेको वडाध्यक्ष पुनले बताउनुभयो । अबको बाँकी २ वर्षमा त्यो पनि पूरा गर्ने उहाँले बताउनुभयो । टावर बनिसकेको र त्यसबाट नेटवर्क छाड्न मात्रै बाँकी रहेको वडाध्यक्ष पुनले बताउनुभयो । यसका साथै शिक्षा, स्वास्थ्य, रोजगार, उत्पादन लगायतलाई पनि सँगसँगै लिएको वडाध्यक्ष पुनले बताउनुभयो ।