_1630750320-1740905435.jpg)
रुकुम पश्चिममा लामो समयपछि वर्षा भएपछि कृषकहरू हर्षित भएका छन् । आकाशे पानीको भरमा खेती गर्ने किसानलाई राहत भएको छ । करिब ५ महिनापछी यो वर्षको हिउँदको पहिलो वर्षा भएपछि किसान खुसी भएका छन् । असोज महिनादेखि यता वर्षा नहुँदा आकाशे पानीको भरमा खेती गर्ने किसान चिन्तित बनेका थिए ।
लामो समय पछि वर्षा हुँदा खुसी लागेको त्रिवेणी गाउँपालिका वडा नम्बर २ किसान भिमबहादुर ओलीले बताउनुभयो । ‘पानी नपरेको धेरै लामो समय भइसकेको थियो, बारीमा लगाएको गहुँ, जौ, मटर लगायतका हिउँदे वाली सुक्ने अवस्थामा थिए, केही ढिला गरी वर्षा भएको छ, अब केही राहत हुन्छ कि’ ओलीले भन्नुभयो । आकाशे पानीको भरमा खेती गर्ने कृषकहरू हरेक वर्ष हिउँद याममा पानी नपर्दा चिन्तामा रहने गरेका छन् ।
अर्का किसान मुसिकोट नगरपालिका ९ का कमल खड्काले पनि धेरै लामाे समय पछि वर्षा हुँदा खुसी लागेको बताउनुभयो । ‘आकाशे पानीको पर्खाइमा थियौँ, धेरै समय पछि पानी आयो अब हिउँदे बाली सप्रिने भयो, हामी खुसी छौ’ खड्काले भन्नुभयो ।
रुकुम पश्चिममा केही ठाउँमा सिँचाइको सुविधा भए पनि अधिकांश भूभागमा सिँचाइको सुविधा पुग्न सकेको छैन । अधिकांश भूभागमा किसानहरू आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता रहेको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
रुकुम पश्चिम, पूर्वसहित विभिन्न स्थानमा शुक्रबारदेखि शनिबार दिउँसोसम्म लगातार वर्षा भएको थियो ।