Kakhara सबैको खबर सम्पूर्ण खबर
वडावासीलाई कोरोनाबाट जोगाउन टोल टोलमा समिति, घर घरै पुगेर वडावासीको स्वास्थ्य जाँच 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. १० ले वडामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधि, शिक्षक, टोलविकास संस्था, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकालाई परिचालन गरेको छ । बढ्दो कोरोना भाइरसको संक्रमणलाई रोक्न वडाले टोल टोलमा समिति बनाएको छ । 

वडामा रहेका ४ वटा टोल गलमपाटी, खुर्सूपानी, नमूना वस्ती र खड्का टोलमा सम्बन्धीत टोलबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको संयोजकत्वमा ७ सदस्यीय कोभिड नियन्त्रण सहायता समिति गठन गरिएको छ । उक्त समितिमा सोही टोलका एक जना शिक्षक, टोलविकास संस्थाका अध्यक्ष, महिला स्वास्थ्य स्वयमसेविका र २ जना स्वास्थ्यकर्मी सदस्य रहेका छन् । स्वास्थ्यकर्मीका रुपमा स्वास्थ्य लाइन पढेका विद्यार्थी समेतलाई राखिएको छ ।  

उक्त समितिले आफ्नो टोलमा कोभिड रोकथामका सम्पूर्ण कामहरु गरिरहेका छन् । एक टोलका व्यक्तिलाई अर्को टोलमा जान र आउन नदिने, टोलमा खाद्यान्न मगाउने देखि कुनै व्यक्ति बिरामी भएमा स्वास्थ्य संस्था पुर्याउने सम्मको काम उक्त समितिले नै गर्ने वडा सदस्य धनवहादुर खड्काले जानकारी दिनुभयो । अहिले वडामा उक्त समिति मार्फत कोभिड नियन्त्रणका लागि विभिन्न गतिविधिहरु भइरहेको उहाँको भनाई छ । 

उहाँका अनुसार यो समिति घर घरमा पुगिरहेको छ । साथमा औषधि तथा स्वास्थ्य सामग्री रहने गरेका छन् । समितिमा रहेका स्वास्थ्यकर्मीहरुले वडावासीको स्वास्थ्य अवस्था जाँच, उपचार र स्वास्थ्य परामर्श गर्ने गरेका छन् भने जनप्रतिनिधि लगायत अन्य सदस्यहरुले कोरोनाबाट बच्ने उपाय सहित सचेतना फैलाउने काम गर्छन् । 

वडाका लागि नगरपालिकाले मास्क, औषधि, अक्सिजन नाप्ने अक्सीमिटर तथा ज्वरो नाप्ने थर्मल गण उपलब्ध गराएको छ । यसका अलावा वडाले पनि थप औषधि र ४÷४ वटा अक्सीमिटर र थर्मल गण खरिद गरेको वडाध्यक्ष गोप्यश्वर केसीले बताउनुभयो । समिति मार्फत घर घरमा पुगेर वडावासीको स्वास्थ्य जाँच, औषधि वितरण र परामर्श तथा मास्क वितरण सहित सचेतना फैलाउने काम भइरहेको उहाँको भनाई छ । 

बढ्दो कोरोनाको जोखिम र निषेधाज्ञाका कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका वडावासीलाई लक्षित गरेर घर घरै पुगि स्वास्थ्य जाँच र उपचारको व्यवस्था गरिएको वडाध्यक्ष केसीले बताउनुभयो । अहिलेसम्म नमूना टोलमा यो अभियान सकिएको र बाँकी तीन वटा टोलमा भने चलिरहेको वडाले जनाएको छ ।।  

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update