
रुकुम पूर्वको सिस्ने गाउँपालिकाले वडा नम्बर ५ मा रहेको कमल तालबाट कमलको जरा सङ्कलन तथा निकासीका लागि टेन्डर आह्वान गरेको छ । गाउँपालिकाले केही वर्ष देखि कमल तालमा रहेका कमलका जरा निकाल्न टेन्डर आह्वान गर्ने गरेको छ । यस सिजनको कमल निकाल्न गाउँपालिकाले आइतबार सिलबन्दी दरभाउ पत्र आह्वान गरेको हो ।
कमलका जरा जथाभाबी चोरी निकासी रोक्न र कमल ताललाई राजस्वको दायरामा ल्याउन ठेक्का प्रक्रिया मार्फत कमलका जरा सङ्कलन तथा निकासी गर्ने गरिएको गाउँपालिकाले जानकारी दिएको छ । कमलको जरा निकाल्न व्यक्ति, संस्था वा कम्पनी जुनसुकैले पनि टेन्डर हाल्न पाउने छन् । यो वर्ष पनि न्यूनतम ठेक्का कबोल रकम एक लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
सिलबन्दी खरिद दस्तुर १ हजार तोकिएको छ भने सिलबन्दी खरिदको अन्तिम मिति फागुन २६ गते कार्यालय समयभित्र रहेको छ भने फागुन २७ गते मध्यान्ह १२ बजेभित्र सिलबन्दी पेस गर्ने अन्तिम मिति तोकिएको छ । सोही दिन दिउँसो १ बजे सिलबन्दी खोलिने सिस्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको कमल दह गाउँपालिकाको वडा नम्बर ५ मा अवस्थित छ । स्थानीय सरकार बनेपछि कमलको जरा निकाल्न गाउँपालिकाले ठेक्का आह्वान गर्दै आएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । यो वर्ष १३ दिनसम्म कमलका जरा निकाल्न पाइने गरी गाउँपालिकाले टेन्डर खुलाएको छ ।
पछिल्लो समय कमल ताललाई थप व्यवस्थित गराउँदै लगिएको छ । यसले गर्दा कमल ताल अवलोकनका लागि पुग्नेहरू बढ्दै गएका छन् भने कमलका जरा निकाल्ने कार्यलाई व्यवस्थित बनाइएपछि कमल ताल पालिकाको आम्दानीको स्रोत समेत बनेको छ । स्थानीय तह बन्नु पूर्व स्थानीयले समिति मार्फत तालबाट कमलका जरा निकाल्ने र बिक्री गर्ने गरेका थिए । व्यवस्थित नहुँदा स्थानीयले आफूखुसी कमलका जरा निकाल्ने गरेका थिए । जसका कारण कमल लोप हुने जोखिम बढेको भन्दै गाउँपालिकाले यसमा लगाम लगाएको हो ।
औषधीय गुणयुक्त कमलको जराको माग व्यापक छ । कमलको जरा अचारको रूपमा प्रयोग हुन्छ । खानमा समेत स्वादिलो यसको प्रयोगबाट जन्डिस रोग निको हुने विश्वास छ । कमलका जरा देशका विभिन्न जिल्ला तथा विदेशसम्म पनि पठाइन्छ । कमलको जरा महँगोमा बिक्री हुने गरेको छ ।