
रुकुम पश्चिममा सिर्जना उत्सव हुने भएको छ । राप्ती साहित्य परिषद् रुकुम पश्चिमको आयोजनामा आगामी चैत्र २२ र २३ गते जिल्ला सदरमुकाम खलङ्गामा जिल्लाव्यापी कविता प्रतियोगिता र अन्य साहित्यिक तथा सांस्कृतिक क्रियाकलाप सहित वृहत् स्तरको सिर्जना उत्सव हुने भएको हो ।
उत्सव अन्तर्गतको कविता प्रतियोगिताका लागि चैत्र १० गतेभित्र परिषद्मा पुग्ने गरी कविता पठाउन आयोजक राप्ती साहित्य परिषद्ले सबैमा अनुरोध गरेको छ । एक सूचना जारी गर्दै परिषद्ले कविता प्रतियोगिता सहितको सिर्जना उत्सव गर्ने बारेमा जानकारी गराउँदै प्रतियोगितामा सहभागी हुन चाहनेलाई चैत्र १० भित्र कविता पठाउन अनुरोध गरेको हो ।
जिल्लाभरबाट तोकिएको समयभित्र प्राप्त भएका कविताहरू मध्ये समितिले उत्कृष्ट २५ कविताहरू छनौट गरी पुनः प्रतिस्पर्धा गराउने र सिर्जना उत्सवको दिनमा पुरस्कृत कविताहरू वाचन गरिने राप्ती साहित्य परिषद् रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रथम कवितालाई ५ हजार, द्वितीयलाई ३ हजार र तृतीयलाई २ हजार सहित पुरस्कृत गरिने छ ।
सांस्कृतिक समितिले सिर्जना उत्सवको दिनमा प्रस्तुत गरिने सांस्कृतिक झाँकीहरूको छनौट र व्यवस्थापन समेत गर्ने अध्यक्ष ओलीले बताउनुभयो । कार्यक्रम सम्पन्न गर्नको लागि मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाले प्रारम्भिक बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाएको र थप स्रोतको खोजी गर्ने र कार्यक्रमको प्रचारप्रसारको जिम्मा आर्थिक समितिलाई दिइएको छ ।
कार्यक्रममा कवि तथा पूर्व प्राज्ञ तुलसी दिवसको प्रमुख आतिथ्यता तथा अन्य ख्यातिप्राप्त कवि, सर्जक तथा साहित्य प्रेमीको उपस्थिति रहने राप्ती साहित्य परिषद् रुकुम पश्चिमले जनाएको छ । त्यस्तै राप्ती साहित्य परिषद्ले चैत्र महिना भित्र परिषद्को वार्षिकोत्सव मनाउने समेत निर्णय गरेको छ ।