Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने ६ मा आयोजित वडा कप भलिबलको उपाधि बाँफिकोट २ लाई 
विजेता बाँफिकाेट २ काे टिम ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा आयोजित वडा कप भलिबल सम्पन्न भएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ६ को वडा युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको प्रथम वडाध्यक्ष कप पुरुष भलिबल रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ ले जितेको छ । वडाको चिउरेनीमा आज भएको फाइनलमा रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै बाँफिकोट २ विजेता भएको हो । 

थवाङ गाउँपालिका वडा नम्बर २ उपविजेता बन्दा सिस्ने गाउँपालिका वडा नम्बर ६ तेस्रो भएको छ । विजेता बाँफिकोट २ ले नगद ७५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उप विजेता थवाङ २ ले नगद ५० हजार र तेस्रो हुने आयोजक सिस्ने ६ ले २५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक समितिका सचिव हरि थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बाँफिकोट २ का गणेश बिक उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा १८ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । 

प्रतियोगिताको आज समापन गरिएको छ । प्रतिस्पर्धा सकिएपछि एक कार्यक्रमका बिच प्रतियोगिताको समापन गरिएको आयोजक सिस्ने गाउँपालिका वडा नम्बर ६ ले जनाएको छ । युवा तथा खेलकुद विकास समिति सिस्ने ६ का अध्यक्ष मुस्कान शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडाध्यक्ष पूर्णबहादुर मल्ल लगायतको आतिथ्यता समेत रहेको थियो । कार्यक्रमको सञ्चालन यादव रेउलेले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update