
आगामी चैत्र ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज सङ्गठन दर्ताको कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन कार्य तालिका अनुसार आज स्ववियु निर्वाचनमा सहभागीका लागि विद्यार्थी सङ्गठन दर्ताको कार्यक्रम रहेको थियो । रुकुम पश्चिमका ७ वटै त्रिभुवन विश्वविद्यालयका सामुदायिक क्याम्पसमा सङ्गठन दर्ता भएको छ ।
जिल्लामा मुख्य गरी नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एस निकट विद्यार्थी सङ्गठनले सम्बन्धित क्याम्पसका निर्वाचन समितिमा सङ्गठन दर्ता गराएका छन् । जिल्लाका सबै ७ वटै क्याम्पसमा स्ववियु निर्वाचनका लागि सङ्गठन दर्ता गराएको नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका जिल्ला सम्मेलन आयोजक समितिका संयोजक किरण विश्वकर्माले जनाकारी दिनुभयो ।
उम्मेदवार टुङ्ग्याउने काम समेत धमाधम भइरहेको उहाँले बताउनुभयो । हालसम्म रुकुमेली क्याम्पस मुसिकोट, सिम्रुतु क्याम्पस त्रिवेणी, जहारी क्याम्पस खोलागाउँ चौरजहारी र स्पार्पू बहुमुखी क्याम्पस बाँफिकोटमा स्वविय अध्यक्षका उम्मेदवार टुंग्याएको उहाँले बताउनुभयो । नेकपा एस निकट समाजवादी विद्यार्थी सङ्गठनले पनि ७ वटै क्याम्पसमा सङ्गठन दर्ता गरेको बताएको छ । जिल्ला अध्यक्ष रमेश मल्लले टियुका सबै क्याम्पसमा सङ्गठन दर्ता गरेको बताउनुभयो ।
नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ र नेकपा एमालेको अनेरास्ववियुले पनि सबै क्याम्पसमा स्ववियु निर्वाचनका लागि सङ्गठन दर्ता गराएको जनाएका छन् । चैत्र ५ गते त्रिभुवन विश्व विद्यालय स्ववियु निर्वाचन हुन लागेको हो । जिल्लामा मध्यपश्चिम विश्व विद्यालयको आङ्गिक क्याम्पस मुसिकोट खलङ्गा बहुमुखी क्याम्पस रहे पनि मध्यपश्चिम विश्व विद्यालयले स्ववियु निर्वाचनको मिति तय गरेको छैन् ।
जिल्लामा रुकुमेली क्याम्पस मुसिकोट, शीतल क्याम्पस चौरजहारी, जहारी क्याम्पस खोलागाउँ चौरजहारी, राडीजिउला शिक्षा क्याम्पस आठबिसकोट, स्यार्पू बहुमुखी क्याम्पस बाँफिकोट, सानीभेरी शिक्षा क्याम्पस सानीभेरी र सिम्रुतु क्याम्पस त्रिवेणी गरी टियुका ७ वटा सामुदायिक क्याम्पस रहेका छन् ।
टियु स्ववियु निर्वाचन कार्य तालिका अन्तर्गत फागुन २१ मा मतदाता सूची प्रकाशित गर्ने, फागुन २५ मा मतदाता सूची उपर दाबी विरोध गर्ने, सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने र चैत ५ गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।