Kakhara सबैको खबर सम्पूर्ण खबर
सुकेका दश हजार ओखरका विरुवा फिर्ता पठाइयो
फिर्ता पठाइएका ओखरका विरुवा ।

कर्णाली प्रदेश भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले रुकुम पश्चिम पठाएका विरुवा फर्काइएको छ । रुकुम पश्चिमको त्रिवेणि र सानीभेरी गाउँपालिकाका लागि आएका च्याण्डलर जातका ९ हजार ७ सय १० वटा ओखरका विरुवा सुर्खेत फर्काएको हो ।

ओखरका विरुवा लाउने समय घर्किसकेको तथा गुणस्तरहिन भएको भन्दै कृषि विकास कार्यालयले ति विरुवा सुर्खेत फर्काइदिएको हो । विरुवाको कलमी गरेको भाग सुकेको र त्यो जाग्ने सम्भावना कम भएपछि फर्काइएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले जानकारी दिनुभयो ।

लगाउने समय भन्दा केही ढिला भएको र विरुवा पलाउने सम्भावना पनि कम देखिएपछि किसानलाई ति विरुवा वितरण नगरेर फिर्ता पठाइएको केसीले बताउनुभयो । सरकारको ८५ प्रतिशत अनुदान र १५ प्रतिशत किसानको लगानी हुने गरी उक्त विरुवा जिल्लामा आएको थियो ।

शकास्पद विरुवा आएको र विरुवा लाउन मिल्ने खालको नभएको गुनासो आएपछि अनुगमन पनि गरिएको थियो । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा र कृषि विकास कार्यालयका प्राङ्गारीक कृषि अधिकृत विजय ओली लगायतको टोलीले विरुवाको अनुगमन गरेको थियो ।

उक्त अनुगमन टोलीले टर्कीबाट आएको उक्त विरुवा लगाउन नमिल्ने खालको भनेर सुझाव समेत दिएको थियो । विरुवाको कलमी गरेको भागमा सुकेको, विरुवा लगाउने सिजन भन्दा ढिलो आएको र अनुगमन समितिको पृष्ठपोषणलाई आधार मानी जिल्लामा आएको विरुवा फिर्ता पठाइएको केसीले बताउनुभयो । विशेष गरी यो विरुवा माघ र फागुन महिनामा लगाउन उपयुक्त मानिन्छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update