
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ मा रहेको सहिद स्मृति दीप ज्योति नमुना माविमा डम्पिङ साइडका कारण पठन पाठन प्रभावित भइरहेको छ । बजारभरिको फोहोर फाल्ने डम्पिङ साइड विद्यालय भन्दा एक सय मिटरको दुरीमा मात्र छ । विद्यालय भन्दा मुनी बजारभरिको फोहोर उठाएर फालिन्छ ।
अनि त्यहाँ फोहोर जलाएको धुवाँ र दुर्गन्ध सिधै कक्षा कोठामा पुग्छ । जसले गर्दा विद्यालयको पठन पाठनमा समस्या भइरहेको विद्यालयले जनाएको छ । धुवाँ र दुर्गन्धले बालबालिकाहरूमा स्वास्थ्य समस्या समेत देखिने गरेको र पठनपाठनमा प्रत्यक्ष असर गरिरहेको विद्यालयको भनाई छ ।
यसबारेमा नगरपालिकामा पटक पटक ध्यानाकर्षण गराउँदा पनि हल नभएको विद्यालयले बताएको छ । पछिल्लो पटक नगर बाल सञ्जालले पनि डम्मिङ साइड अन्यत्रै व्यवस्थापनका लागि नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । फोहोरले कलिला बालबालिकाहरूमा गम्भीर असर गरिरहेकोले तत्कालै डम्पिङ साइडको विकल्प खोज्न नगरपालिकालाई ध्यानाकर्षण गराइएको नगर बाल सञ्जालका अध्यक्ष रिजन शर्माले जानकारी दिनभयो ।
विद्यालयबाट १ सय मिटरको दुरीमा डम्पिङ साइड बनाउनु कलिला बालबालिकाको स्वास्थ्यमा गम्भीर खेलबाड गर्नु रहेको उहाँले बताउनुभयो । यस्तो गम्भीर विषयमा नगरस्थित सबै सरोकारवालाहरू गम्भीर हुनुपर्ने बेला आएको उहाँले बताउनुभयो ।
नगर प्रमुख रबी केसीले डिम्पिङ साइडको विकल्पको खोजी भइरहेको बताउनुभयो । हालको डिम्पिङ साइडले विद्यालयमा असर गरिरहेकाले अन्यत्रै डम्पिङ साइडको व्यवस्थापनका लागि काम भइरहेको उहाँले बताउनुभयो । जनजीवनमा प्रत्यक्ष असर नपर्ने गरी फोहोर व्यवस्थापनका लागि ठाउँको खोजी गरिरहेको उहाँको भनाइ छ । हालको डम्पिङ साइडले विद्यालयमा असर गरिरहेको तर्फ आफ्नो र नगरपालिकाका गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो ।