
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ ले ब्याडमिन्टन खेलाडी हरि खत्रीलाई सम्मान गरेको छ । जिल्ला ब्याडमिन्टन सङ्घ रुकुम पश्चिमले मुसिकोटमा आयोजना गरेको खुला ब्याडमिन्टन तेस्रो संस्करणमा दुई विधा तर्फ विजेता बन्न सफल वडावासी खेलाडी खत्रीलाई सम्मान गरेको हो । आज वडा कार्यालयमा बोलाएर वडाध्यक्ष दिनेश खड्का, वडा सदस्यहरू र वडा सचिव कमल पुन लगायतको टोलीले अबिर, दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो ।
हरि सम्मिलित जोडी प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेश खुला पुरुष डबल्स र रुकुम पश्चिम खुला पुरुष डबल्समा विजेता बनेको थियो । उनको जोडीमा नरेन्द्र ओली थिए । यो जोडी रुकुमेली नापी समाजबाट प्रतियोगितामा सामेल भएको थियो । जिल्लाको आठबिसकोट नगरपालिकाले पनि सोमबार विजेता २ महिला र २ पुरुष गरी ४ जना खेलाडीलाई सम्मान गरेको थियो । नगरपालिकाले सम्मान स्वरूप एक एक वटा ब्याडमिन्टन र्याकेट दिनुका साथै निःशुल्क स्वास्थ्य बिमा समेत गरिदिने भएको छ ।