Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकाले सहिद परिवारलाई दियाे चुलो र प्रेसर कुकर

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गरेको छ । बुधवार वडा  नम्बर २ को सिम्रुतुमा रहेको सहिद स्मृति प्रतिष्ठानको सभा हलमा एक कार्यक्रमको आयोजना गरी ७५ जना सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गरेको हो । पालिका भरका ७५ जना सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान  स्वरूप गाउँपालिकाले  चुलो र ५ लिटरको प्रेसर कुकर प्रदान गरेको त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रत्येक सहिद परिवारका सदस्यलाई एक/ एक वटाका दरले प्रेसर कुकर र चुलो दिएको हो । साथै सहिद तथा बेपत्ता परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पालिकाले हरेक वर्ष सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गर्दै आएको छ । यस वर्ष पालिकाले सहिद परिवारलाई सम्मान  कार्यक्रमको लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा सोही गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पूर्व जिल्ला समन्वय समिति सदस्य टेकबहादुर ओलीको विशेष आतिथ्यता रहेकामा गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले खड्का, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर पुन, वडा अध्यक्ष  लगायतको आतिथ्यता रहेको थियो ।  सामाजिक विकास शाखा संयोजक रणबहादुर पुनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद   शाखा प्रमुख सुरेश पुन मगरले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update