Kakhara सबैको खबर सम्पूर्ण खबर
अब भूमे मै आँखा उपचार सेवा पाइने, खाबाङमा आँखा केन्द्र स्थापना 

रुकुम पूर्वको भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बुधवार पहिलो पटक गाउँपालिकाको केन्द्र खाबाङ बगरमा आँखाको चेकजाँच गराउनुभयो । उहाँ सँगै गाउँपालिका उपाध्यक्ष सविना बुढा र प्रमुख प्रशासकीय अधिकृत देवीलाल विकले पनि आँखाको चेकजाँच गराउनुभयो । पालिकाको केन्द्र खाबाङ बगरमा पहिलो पटक आँखाको चेकजाँच गराउने पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मात्र होइन् अन्य गाउँपालिकामा कार्यरत कर्मचारी स्थानीय सहित १८ जनाले आँखाको चेकजाँच गराए ।

भूमे गाउँपालिकाले स्थापना गरेको ग्रामीण आँखा केन्द्रमा पहिलो दिन उहाँहरुको आँखाको चेकजाँच भएको हो । गाउँपालिकाको २० लाख तथा नेपाल आँखा कार्यक्रम तिलगंगा प्रतिष्ठान गौशाला काठमाडौँको २० लाख गरी कुल ४० लाख लागतमा पालिकाको केन्द्रमा खाबाङ बगरमा आँखा केन्द्रको स्थापना गरिएको छ । गाउँपालिका अध्यक्ष श्रेष्ठले आँखा केन्द्रको रिबन काटेर उद्घाटन गर्नुभएको थियो । नेपाल आँखा कार्यक्रम तिलगंगा प्रतिष्ठान गौशाला काठमाडौँको सहकार्य, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको समन्वय र द फ्रेद हलोज फाउन्डेसन अस्ट्रेलियाकाे सहयोग तथा भूमे गाउँपालिकाको आयोजनामा ग्रामीण आँखा केन्द्रको स्थापना गरिएको छ ।

eye-1741230582.jpg
यस अघि सम्म राप्ती आँखा उपचार केन्द्र रुकुम पश्चिम र जिल्ला अस्पताल रुकुम पूर्वबाट आँखाको उपचार गराउँदै आएका भूमेका सर्वसाधारण तथा जिल्लावासीले खाबाङ बगर बाट सेवा पाउने भएका छन् । जिल्ला वासीको सहजताको लागि भूमेमा ग्रामीण आँखा केन्द्रको स्थापन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकले जानकारी दिनुभयो । नजिक आँखा उपचार केन्द्र नहुँदा जिल्ला बासी जिल्ला बाहिर जाने बाध्यता थियो, त्यसलाई नै मध्यनजर गरेर हामीले आँखा केन्द्रको स्थापना गरेको हौ उहाँले भन्नुभयो । अब भूमे गाउँपालिका बासी मात्र नभई जिल्ला बासीले सेवा पाउने उहाँको बताउनुभयो ।

ग्रामीण आँखा केन्द्रबाट नियमित आँखाको चेकजाँत, चस्मा वितरण, आँखाको बाहिरी भागको उपचार औषधी वितरण लगायतका सेवा सुरु भएको छ । ग्रामीण आँखा केन्द्रमा नेत्र सहायक हिरा बस्नेतले सेवा दिनुहुने छ । भूमे गाउँपालिका अध्यक्ष श्रेष्ठको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा भूमे गाउँपालिका उपाध्यक्ष बुढा, पूर्व गाउँपालिका अध्यक्ष रामसुर बुढा, जिल्ला सामुदायिक आँखा केन्द्र लिवाङ रोल्पाका अध्यक्ष नैलसिंह पुन, भूमे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विक भूमे गाउँपालिका विभिन्न वडाका वडाध्यक्ष लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update