
रुकुम पश्चिमको चौरजहारीमा बिहीबारबाट सांस्कृतिक महोत्सव जारी छ । स्थानीय सहिद स्मृति कला संस्कृति संरक्षण केन्द्रको आयोजनामा वडा नम्बर २ को रङ्गशालामा चौथो बृहत् चौरजहारी कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८१ आयोजना गरेको हो ।
महोत्सवमा शुक्रवार देखि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति सुरु भएको छ । यसैबिच महोत्सवको सिसी क्यामेराबाट निगरानी भइरहेकाे आयोजकको भनाई छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै महोत्सव स्थलमा सिसी क्यामेरा जडान गरिएको आयोजक समितिका संयोजक राजु जिआरले जानकारी दिनुभयो ।
महोत्सव स्थलमा १० वटा सिसी क्यामेरा जडान गरिएको उहाँको भनाई छ। महोत्सव स्थल पूर्ण रूपमा सिसी क्यामेराको निगरानीमा रहेको उहाँले बताउनुभयो । यसले महोत्सवमा अवाञ्छित गतिविधि हुनबाट रोक्ने आयोजकको विश्वास छ । सल्यान श्रीनगरमा केही समय अघि आयोजित महोत्सवमा आगलागी हुँदा करोडौँको क्षति भएको थियो ।
महोत्सवमा नायक तथा मोडल पल शाह, हास्य कलाकार धुर्मुस–सुन्तली, गायक बद्री पङ्गेनी, गायिका ज्योति मगर, गायक प्रकाश सपुत, गायिका एलिना चौहान, गायक कुलेन्द्र विश्वकर्मा, खेम सेन्चुरी लगायतका राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने बताइएको छ ।
त्यस्तै महाेत्सवमा १ सय बढी ब्यापारिक स्टलहरू रहेका छन् । भारतबाट सामग्री ल्याएर बाल उद्यान समेत जडान गरिएकाे आयाेजककाे भनाई छ ।