Kakhara सबैको खबर सम्पूर्ण खबर
ग्रेगरी कलासंस्कृति पुरस्कार रुकुम पश्चिमका मनलाल ओलीलाई प्रदान गरिने

नेपाली कला साहित्य डटकम प्रतिष्ठानले २०८१ को ग्रेगरी कलासंस्कृति पुरस्कार रुकुम पश्चिमका मनलाल ओलीलाई प्रदान गर्ने भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकाका साहित्यकार तथा संस्कृति साधक ओलीलाई २० हजार रुपैयाँ राशिको ग्रेगरी कलासंस्कृति पुरस्कार प्रदान गरिने भएको हो ।

प्रतिष्ठानले जारी गरेको विज्ञप्ति अनुसार पुरस्कार चैत्र २० देखि २५ गतेसम्म सञ्चालन हुने ‘मेरो राष्ट्र मेरो ध्येय’ राष्ट्रिय कला साहित्य यात्रा अन्तर्गत चैत्र २३ गते रुकुम पश्चिम, मुसिकोटमा आयोजना हुने विशेष सिर्जना उत्सव समारोहमा प्रदान गरिनेछ । त्यस्तै २५ हजार पुरस्कार राशिको योगेश्वर वाङ्मय पुरस्कार सल्यानका कवि तथा कथाकार अमर शाहलाई प्रदान गरिने भएको छ । 

योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीका पिता योगेश्वर कार्कीको नाममा स्थापित योगेश्वर वाङ्मय पुरस्कार तथा कला तथा संस्कृतिविद् प्रा.डा. ग्रेगरी जी. मस्कारिनेकको नाममा स्थापित ग्रेगरी कला संस्कृति पुरस्कार प्रदान गरिने कार्यक्रम राप्ती साहित्य परिषद्, रुकुम पश्चिमको सह–आयोजनामा हुनेछ ।

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले यी दुई पुरस्कारका साथै अन्य विभिन्न विधामा योगदान पुर्याउने साहित्य, संगीत तथा कला साधकहरूलाई राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार र ‘नेपाल सम्मान’ पनि प्रदान गर्दै आएको छ । अमर शाह र मनलाल ओलीलाई प्रदान गरिने यी पुरस्कारहरूले नेपाली साहित्य तथा संस्कृतिको क्षेत्रमा उहाँहरूको योगदानको कदर गर्ने प्रतिष्ठानले विश्वास लिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update