Kakhara सबैको खबर सम्पूर्ण खबर
डेनमार्कका नागरिकद्वारा मारिङ सहकारीको अवलोकन 

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर २ मा रहेको मारिङ सहकारी संस्थाको डेनमार्कका नागरिकले अवलोकन गरेका छन् । शनिवार डेनमार्ककाबाट ६ जनाको टोली सहकारीको अवलोकन गर्न पुगेको थियो । उनीहरूले सहकारीको सेवा प्रवाह र सहकारीले सञ्चालन गरेको गाई फार्मको बारेमा अवलोकन गरेका थिए । 

डेनमार्कमा लामो समय देखि कृषि पेसामा आबद्ध भएर पशुपालन गरिरहेका उनीहरूले सहकारीको पहिलो पटक अवलोकन गरेका हुन् । अवलोकनको क्रममा उनीहरूले लामो समयसम्म कृषि पेसामा अनुभव सहकारीसँग साटेका थिए । यस्तै उनीहरूले पालिकाको कला संस्कृति, चालचलन, भेसभुसा, भूगोल तथा समग्र जीवनशैली बारेमा अवलोकन गरेका छन् । 

यस क्षेत्रलाई माथि उठाउने सन्दर्भमा आफूहरूले सके जति सहयोग गर्ने प्रतिबद्धता जनाएको मारिङ सहकारी संस्थाका अध्यक्ष रामसुर बुढाले जानकारी दिनुभयो ।  उनीहरुले सहकारीले सञ्चालन गरेको कृषि फर्ममा पालिएका गाइलाई पोषण युक्त खाना दिनुपर्ने सुझाव दिएका थिए । सुझावलाई ग्रहण गर्दै अघि बढ्ने सहकारी संस्थाका अध्यक्ष बुढाले बताउनुभयो । 

गाई गोठ, भङ्गुर तथा कुखुरा खोर परम्परागत शैलीमा भएको हुँदा यसलाई थप सुधार गरेर लैजानु पर्ने उनीहरूको सुझाव थियो । परम्परागत शैलीमा पशुपालन गर्दा विभिन्न रोगको संक्रमण हुने उनीहरूको भनाइ थियो । उनीहरूको स्वागतको लागि विभिन्न नचारु, धङ्गे नाच, भूमे लगायतका नाचहरू प्रस्तुत गरिएको थियो ।

२०७७ सालमा स्थापना भएको मारिङ सहकारी संस्थाले  बचत तथा ऋण लगानीका साथै स्थानीय स्तरमा उत्पादित कृषि उपज खरिद तथा बिक्री वितरण गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update