
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ गैरिनेटामा रहेको बालशिक्षा माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । उक्त विद्यालयबाट विदाइ भएर एसइई परीक्षा दिने २३ जना छात्र छात्रालाई शैक्षिक सामग्री सहयोग गरिएको हो । वडा नम्बर २ बादँरपानी निवासी समाजसेवी तथा हाम्रो युवा समाजका अध्यक्ष शक्तिकिरण विसीले व्यक्तिगत रुपमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।
एसइई परीक्षाको लागि बिदाइ भएर जाने २३ जना विद्यार्थीलाई हौसला स्वरुप कापी, कलम सहयोग गरिएको युवा समाज अध्यक्ष बिसीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक विद्यार्थीलाई २ सय रुपैयाँ बराबरका शैक्षिक सामग्री ( तीन वटा कापी र ५ वटाका कलम दरले कलम) सहयोग गरिएको छ । साथै कक्षा १० को नमुना (टेस्ट) परीक्षामा स्थान प्राप्त गर्ने ४ जना विद्यार्थीलाई पनि शैक्षिक सामग्री सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । २७ जना विद्यार्थीलाई गरेर जम्मा ५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरिएको उहाँको भनाइ छ ।
बिदाइ कार्यक्रममा एसइई दिने विद्यार्थीलाई उज्वल भविष्यको कामना गर्नुका साथै उतिर्ण हुने सम्पुर्ण विद्यार्थीलाई प्रमाणपत्रका साथै १ हजार रुपैयाँ सम्मान स्वरूप प्रदान गरिने समेत विसीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै आगामी वर्षहरुमा पनि उक्त विद्यालयमा अध्यनरत कक्षा १ देखि १० सम्मका गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्ने योजना बनाएको उहाँको भनाइ छ ।
बिदाइ कार्यक्रमको अवसरमा विद्यालय व्यवस्थापन समितिले विद्यार्थीको उज्वल भविष्यको कामना गर्दै प्रत्येक विद्यार्थीलाई फोटोसहितको प्रमाणपत्र प्रदान गरेको थियो । बालशिक्षा माध्यामिक विद्यालय गैरीनेटाबाट यस वर्ष पहिलो व्याजका विद्यार्थी माध्यमिक परीक्षा एसइईमा सहभागी हुँदै छन ।