
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गणतन्त्रले नागरिकको जीवनमा परिवर्तन ल्याउन नसकेपछि राजावादीहरूले अवसर पाएको बताउनुभएको छ । नेकपा एस रुकुम पश्चिमको नवौँ अधिवेशनलाई जिल्ला सदरमुकाम मुसिकोटमा सम्बोधन गर्दै उहाँले गणतन्त्रले राम्रो डेलिभरी दिन नसक्दा अहिले राजावादीहरूले सलबलाउने अवसर पाएको बताउनुभयो ।
‘गणतन्त्रमा नेताहरू नसच्चिएको र जनताका आधारभूत आवश्यकता पूरा हुन नसकेका कारण मरेको राजतन्त्रले तर्साउन थालेको छ,’ उहाँले भन्नुभयो । यसको मुख्य कारण संसद् विगठन भएको उहाँको दाबी छ । केपी ओलीले संसद् विगठन गरेपछि नेपाली जनताले भरोसा गरेको नेकपा छिन्नभिन्न भएको र त्यसकै कारण अहिले पूर्व राजा ज्ञानेन्द्रले टाउको उठाउन थालेको उहाँको भनाई छ ।
‘ओलीले संसद् विगठन गरेपछि त्यत्रो ठुलो कम्युनिस्ट पार्टी विभाजित भएपछि त्यसको रिक्ततालाई, खाली ठाउँलाई भर्नका लागि तमाम चिजहरू आए र अहिले पूर्व राजा ज्ञानेन्द्रले पनि टाउको उठाउन थाले, त्यसो हुनाले हाम्रो पार्टी यी सबै परिस्थितिलाई हेरेर अघि बढेको छ,’ महासचिव भुसालले भन्नुभयो । देश यही अवस्थामा रहेमा साम्प्रदायिक द्वन्द्वमा धकेलिने जोखिम रहेको समेत उहाँले बताउनुभयो । राजा फर्किने अवस्था नभएको भन्दै उहाँले राजा नफर्किए पनि अन्य नयाँ नयाँ आउने र देश तमाम द्वन्द्वमा फस्ने उहाँको भनाई छ ।
यसैबिच उहाँले नेकपा एसको पहलमा नेपालमा कम्युनिस्ट ध्रुवीकरणको अभियान सफल हुने दाबी समेत गर्नुभयो । तर अबको कम्युनिस्ट एकता माथि माथिका नेता नेताका स्वार्थ मिलेर हुने एकता नभई जनताका बिचमा पुगेर जनताका समस्याका आधारमा हुने उहाँले स्पष्ट पार्नुभयो । अहिलेसम्मका एकता नेता नेताका स्वार्थ मिलेर भएका कारण नटिकेकोले अब त्यस्तो एकता नहुने उहाँले जिकिर गर्नुभयो ।
‘नेकपा एकीकृत समाजवादीकै पहलमा कम्युनिस्ट ध्रुवीकरण हुन्छ, अबको एकता जनताका स्वार्थ र समृद्धिमा केन्द्रित हुने छ, उहाँले भन्नुभयो–यदि हिजोको नेकपा विभाजन नभएको भए अहिले देशले धरै फड्को मारिसकेको हुन्थ्यो, अब त्यो खालको एकता हुँदैन, जनतालाई समृद्ध बनाउने मुख्य योजनाका साथ कम्युनिस्ट एकताबाट ठुलो कम्युनिस्ट पार्टी बनाएर समाजवादको यात्रामा अघि बढ्छौँ, यसको नेतृत्व नेकपा एसले गर्छ ।’
यसैका लागि नेकपा एकीकृत समाजवादीले चैत्र १ गतेबाट लामो अभियानको थालनी गर्ने उहाँले बताउनुभयो । उक्त अभियान समृद्धि, सुशासन र मुलुकको सर्वोत्तम हितमा केन्द्रित हुने उहाँले बताउनुभयो ।