
नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमको नवौँ जिल्ला अधिवेशन मुसिकोटमा सुरु भएको छ । पार्टीका केन्द्रीय महासचिव घनश्याम भुसालले मुसिकोट खलङ्गाको बाल मन्दिरमा अधिवेशनको उद्घाटन गर्नुभएको हो । अहिले उद्घाटन सत्र चलिरहेको छ भने उद्घाटन सत्र लगत्तै नयाँ नेतृत्व चयनका लागि बन्द सत्र सुरु हुने नेकपा एसका जिल्ला सचिव सुरज परियारले जानकारी दिनुभयो ।
पार्टीका जिल्ला अध्यक्ष माधवप्रसाद गौतमको अध्यक्षतामा जारी उद्घाटन सत्रमा महासचिव भुसालको प्रमुख र केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीको विशेष आतिथ्यता रहेको छ । त्यस्तै पोलिटब्युरो सदस्य शेरबहादुर केसी, कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्रप्रकाश पुरि, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज देवी ओली, केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज विमलकुमार पुन, केन्द्रीय निर्वाचन आयोग सदस्य इन्द्र शर्मा लगायतको आतिथ्यता रहेको छ ।
पार्टीका जिल्ला उपाध्यक्ष तथा कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव सुरज परियारले गरिरहनुभएको छ । उद्घाटन सत्र पूर्व मुसिकोटमा र्याली निकालिएको थियो । र्याली खलङ्गा र आसपासका बजार परिक्रमा गरेर बाल मन्दिरमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।