Kakhara सबैको खबर सम्पूर्ण खबर
विरामीले हात तान्दा मन थाम्न मुस्किल हुन्छ

अन्य जिल्ला र अन्यत्रको तुलनामा धेरै गरिएको महसुस स्वास्थ्यकर्मी, कर्मचारीलाई भएको डाक्टर भुजेलले बताउनुभयो । कोरोनाका विरामीको चेकजाँच उपचारका क्रममा मात्रै लामो समय उपचार, परामर्शमा खर्चनुपर्छ ।

तालिका अनुसार चलेको भए डाक्टर राजकुमार भुजेल यतिबेला एम.डी. अध्ययनको तयारीमा हुनु पर्दथ्यो । छात्रबृत्ति करारमा नियुक्ती ल्याएर जिल्ला अस्पताल रुकुम पश्चिम आएको २ वर्ष पूरा भइसकेको छ । सरकारले २ वर्षका लागि जिल्ला अस्पतालमा पठाएका डाक्टर भुजेल एक महिना अघि नै फर्कने तयारीमा हुनुहुन्थ्यो । सबै व्याजी फर्किएर पनि अध्ययनको तयारीमा लागिसकेकाले डाक्टर भुजेलमा पनि त्यो आतुरी थियो । तर उहाँका लागि यो सबै सम्भव भएन । उहाँ फर्कने तयारी गर्दा गर्दै कोरोना भाइरसको दोस्रो भेरियन्ट आइपुग्यो । जिल्ला अस्पतालमा शंकास्पद विरामी आउन थाले । परीक्षणका क्रममा संक्रमण पुष्टि हुन  थाल्यो । कडा लक्षणका विरामी अस्पताल भर्ना गर्नुपर्ने अवस्था आइलाग्यो । जिल्ला अस्पताल भित्र बनाइएको आइसोलेसन भरिन थाल्यो । हरेक दिन संक्रमित र संक्रमणका कारण कडा लक्षण सहितका विरामी आउन थाले । त्यसपछि डाक्टर भुजेलको पनि मन फेरियो । हिड्नकै लागि तयार भएको झोला थन्क्याएर उहाँ अरु सहकर्मी, स्वास्थ्यकर्मीसित कोरोना संक्रमितको उपचारमा लाग्नुभयो । कोरोना संक्रमित विरामीको उपचार, संक्रमण मात्रै भएकाको परामर्श र अरु व्यवस्थापनमा उहाँले घर फर्किने, थप अध्ययनको कुरा विर्सनुपर्ने भयो । 

स्वयमसेवामै डाक्टर भुजेल
छात्रवृत्ति करारमा २ वर्ष पहिला डाक्टर भुजेल यहाँ आउनुभएको हो । सरकारले २ वर्षको सम्झौता गरेर भुजेललाई उपचारमा खटाएको थियो । २०७६ वैशाखदेखि निरन्तर उपचारमा लागेका भुजेको करार अवधि सकिएको छ । करार अवधि सकिएपछि घर जान तम्सिएका डाक्टर हरेक दिन बढ्दै गएका कोरोना विरामीको उपचारमा हुनुहुन्छ । २४ सै घण्टा कुनै न कुनै काममा लागिरहनुपर्छ । तर उहाँ अहिले स्वयमसेवी डाक्टरका रुपमा कार्यरत हुनुहुन्छ । प्रदेश सरकारले उहाँलाई सेवा सुविधा दिन सम्झौता गरेको छैन । अर्थात उहाँको कार्यावधि थप भएको छैन । कार्यावाधि थप नभएपनि उहाँले स्वयमसेवा गर्न जुटिरहनु भएको छ । प्रदेशले करार सम्झौता नगरेपछि उहाँले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा आफ्नो सम्झौता नभएपनि स्वयमसेवा मार्फत नै विरामीको सेवा गर्ने बताउनुभएको थियो । यद्यपी स्वास्थ्य सेवा कार्यालयले भने त्यसको व्यवस्थापन हुने र डाक्टर तथा स्वास्थ्यकर्मीको सम्झौता हुने जनाएको छ । खैर यो मिति सम्म डाक्टर भुजेलेको कार्यावधि थप भएको छैन । तै पनि उहाँ निरन्तर उपचारमै हुनुहुन्छ । परामर्श र अरु व्यवस्थापनमै डाक्टर भुजेलका दिन वित्छन् । २७ वर्षीय डाक्टर भुजेल आफैले कोरोना संक्रमित विरामीको समग्र कमाण्ड सम्हाल्नु भएको छ । यसका साथै अस्पताल आउने अरु नियमित विरामी र अप्रेशन गर्नुपर्ने अवस्थामा अरु डाक्टरलाई सघाउनुपर्ने ड्युटी त छदै छ । 

स्रोत, साधन र जनशक्ति भन्दा आवश्यक्ता धेरै
जिल्ला अस्पताल १५ शैøयाको हो । त्यसमा स्रोत, साधन र जनशक्ति पनि त्यही खालको छ । तर यस बेला पनि यही साधन, स्रोत, जनशक्तिले थेगिरहेको छ । जिल्ला अस्पतालमा कोरोना संक्रमणपछि कडा लक्षण सहितका विरामी मात्रै ४५ जना भन्दा बढी भर्ना भए । अरु नियमित सेवा, अप्रेशन सहित धेरै काम गर्नुपर्ने भयो । तर त्यो पनि अस्पतालले धानेको छ । यो सामग्री तयार पार्दा सम्म कोरोनाका मात्रै २८ जना विरामी छन् । नियमित र अरु समस्याका विरामी पनि दैनिक आइरहेका छन् । अरु आकष्मिक सेवा पनि प्रवाह गर्नैपर्छ । यसबेला जसरी उपचारको व्यवस्थापन गरिएको छ । यो गर्न सक्नु भनेको सामान्य कुरा नभएको बुझाई डाक्टर भुजेलको छ ।

सीमित स्रोत, साधन र जनशक्ति, त्यसमाथि भौगोलिक विकटता र टाढाको ठाउ“मा विरामीलाई सकेसम्मको सेवा प्रवाह गर्नु भनेको धेरै गरिएको रुपमा लिनुपर्ने उहाँले बताउनुभयो । अन्य जिल्ला र अन्यत्रको तुलनामा धेरै गरिएको महसुस स्वास्थ्यकर्मी, कर्मचारीलाई भएको डाक्टर भुजेलले बताउनुभयो । कोरोनाका विरामीको चेकजाँच उपचारका क्रममा मात्रै लामो समय उपचार, परार्शमा खर्चनुपर्छ । ४५ जना सम्म विरामी भर्ना भएको दिन एक जना विरामीलाई १० मिनेट दिँदा पनि दिनभर जस्तो त्यस्मा खट्नुपर्दा समेत स्वास्थ्यकर्मी नथाकेको, हरेश नखाएको र भएको स्रोत, साधनबाट उपचार गरेको डाक्टर भुजेलले बताउनुभयो । 

आँखै अघि १२ जनाको ज्यान गयो 
एक महिना अवधिमा जिल्ला अस्पतालको आइसोलेसनमा १ सय २५ जना कोरोना संक्रमित विरामी भर्ना भएका छन् । २८ जना उपचाररत छन् । ७० जना डिस्चार्ज भएर घर फर्किए । १२ जनाले अस्पतालकै बेडमा प्राण त्यागे । रिफर भएका मध्य आधा पनि विते । जिल्लाका अरु ठाउँमा अरु पनि वितेका छन् । तर जिल्ला अस्पतालको कोरोना आइसोलेसनको बेडमा १२ जनाको मृत्यु भयो । रिफर भएको र अन्यत्रै मृत्यु भएकाहरुको विवरण जिल्ला अस्पतालमा समावेश गरिएको छैन । त्यो गरिँदैन पनि । डाक्टर भुजेलले लाख कोशिस गर्दा पनि बचाउन नसकिएको बताउनुभयो । सुरुमा वैशाख ६ गते एक महिलाको आइसोलेसनको बेडमा मृत्यु भएको थियो । जिल्ला अस्पतालमा उपलब्ध साधन, स्रोत सबैको प्रयोग गर्दा पनि केही मानिस बचाउन नसकिएको उहाँको भनाई छ । जिल्ला अस्पतालमा भएको भेन्टिलेटर प्रयोगमा नआउनु, कोरोनाका लक्षणलाई वेवास्ता गर्नु लगायतका कारणले धेरैको ज्यान गएको बुझाई डाक्टर भुजेलको छ ।

जिल्ला अस्पतालमा आएको भेन्टिलेटर जनशक्ति अभावमा थन्किएको छ । कोरोना संक्रमण भएपनि घरमै वस्ने, सामान्य रुपमा लिने, अरु अरु टाइफाइड, भाइरल ज्वरो भनेर अरु औषधी खाने र सुई लाउने कारणले मान्छेको ज्यान गइरहेको उहाँको भनाई छ । यो महामारीका बेला खोकी लाग्नु, ज्वरो आउनु, टाउको दुख्नु, आँखा राता हुन, जिउ दुख्नु जस्ता लक्षण देखिए सम्बन्धित ठाउँमा गएर उपचार गर्नुको साटो सामान्य अवस्था जसरी औषधी सेवन गर्दा, सुई लाउँदा निको नभएपछि अस्पताल आउने चलनले गाह्रो बनाइरहेको डाक्टर भुजेलले बताउनुभयो । अस्पताल आइपुग्दा निमोनिया भएर धेरैको फोक्सोमा नै ठूलो असर परिसकेको हुने र लाख प्रयास गर्दा पनि बचाउन नसकिएको डाक्टर भुजेलले बताउनुभयो । कतिजना अक्सिजनको मात्रा ३०/३५ भएका बेला मात्रै अस्पताल आउन गरेको उहाँले बताउनुभयो ।

त्यसमध्यका केहिको स्वास्थ्यमा सुधार आउने र केहिको ज्यान गरेको छ । यसैले यसबेला देखिने कुनै पनि लक्षणका आधारमा औषधी खाने र सुई लाउने भन्दा जिल्ला अस्पताल आएर रोग पहिचान तथा निदान गराउन उहाँको सुझाव छ । यो सँगै संक्रमण भएका तर सामान्य अवस्था रहेका धेरैलाई उहाँले फोनबाटै परामर्श गरिरनु भएको छ । संक्रमित भएका तर सामान्य अवस्थाकालाई पठाइने र फोनबाटै परामर्शको काम पनि गरिरहेको डाक्टर भुजेलले बताउनुभयो । एक महिनाकै अवधिमा ४ देखि ५ सय सम्मका विरामीलाई डाक्टर भुजेलले परामर्श दिइराख्नु भएको छ । 

कोरोना संक्रमण बढ्दै जाँदा अक्सिजन आपूर्ति सजिलो छैन । टाढाबाट रिफिल गर्नु पर्दा समयमै कहिल्यै पनि अक्सिजन पुगिरहेको छैन । कोरोना संक्रमितका लागि अरु औषधी जस्तै अक्सिजन पनि महत्वपूर्ण औषधी हो । अरु औषधी पनि समयमै पुग्दैन । टाढा भएका कारणले पनि होला अक्सिजन र अरु महत्वपूर्ण औषधी समयमै आइरहेका छैनन् ।

विरामीसितै रहन पाए...
कोरोना संक्रमितका कारण हुने सबै आकष्मिक केस, अरु पनि आकष्मिक केसमा डाक्टर भुजेल नै जोडिनुहुन्छ । यसका अलावा आइसोलेसनमा रहेका संक्रमितको लोअप, चेकजाँच र परामर्शमा पनि गइरहनुपर्छ । आइसोलेसनमा कुनै पनि स्वास्थ्यकर्मी छिर्दा विरामी र कुरुवामा आशाको सञ्चार हुन्छ । केही समयको फरकमा राउण्ड चल्छ । राउण्डका क्रममा चेकजाँच, उपचार, औषधीको अवस्था स्वास्थ अवस्थाका बारेमा डाक्टरहरुले सोधपुछ गर्छन् । सुधार भएको र अरु अवस्था बताउँदै डाक्टर बाहिर निस्कछन् । तर विरामीहरुले डाक्टहरु वार्डमै बसिदिए हुन्थ्यो जस्तो आशा गरिरहेको आफूले पाउने गरेको डाक्टर भुजेलले बताउनुभयो ।

आइसोलेसनमा छिर्दा आशावादी देखिनुहुने विरामीहरु बाहिर ननिस्किदिए हुन्थ्यो भन्ने जस्तो अनुभव आफूहरुले गर्ने गरेको उहाँले बताउनुभयो । पिपिई लगाइएको हुन्छ, अरु आइसोलेसनमा पनि जानु पर्नेहुन्छ । बसिरहन सम्भव हुँदैन । कतिपय विरामीले बाहिर निस्कन लाग्दा हात समाउनुहुन्छ, आफूतिर तान्नु हुन्छ । त्यतिबेला मन थाम्न मुस्किल हुन्छ । विरामीसितै बसेर मनोबल बढाइ दिइराखौं भन्ने त लाग्छ तर त्यो सम्भव हुने कुरो भएन । सके सम्म, ज्ञान, क्षमता, स्रोत साधनले पुगेसम्म उपचारमा कमी भने कसैलाई नगरिएको डाक्टर भुजेलको भनाई छ । 

स्वास्थ्यकर्मीको सेवाभाव
जिल्ला अस्पतालामा कार्यरत, अरु स्थानीय तहबाट आएका, प्रदेश सरकारले खटाएका सबै स्वास्थ्यकर्मीको सेवा भावले स्रोत, साधनको सिमितताको बाबजुद पनि उपचार गरिरहेको डाक्टर भुजेलले बताउनुभयो । जिल्ला अस्पतालमा एक जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । तर कहिल्यै त्यो दरबन्दीमा विशेषज्ञ डाक्टर आएका छैनन् । हाल पनि करारका मेडिकल अधिकृतहरुले अस्पतालमा उपचार गरिरहनु परेको डा.भुजेलको भनाई छ । दरबन्दिमै विशेषज्ञ डाक्टर आउँदा त्यसबाट परिचालन हुन, व्यवस्थापन गर्न धेरै सजिलो हुने बुझाई डाक्टर भुजेलको छ । तर त्यो नहुँदा पनि सबैको सेवा भावले काम भइरहेको उहाँले बताउनुभयो । डाक्टर भुजेलका साथमा डाक्टर परिक्षित ओली, डाक्टर विक्रम मानन्धर र डाक्टर दिपक कर्ण कोरोना आइसोलेसनमा खटिरहनु भएको छ । बेलुका बेलुका विरामी र विरामीको अवस्था, उपचारका बरेमा ४ भाइ डाक्टरहरुमा छलफल हुन्छ ।

त्यसमा स्त्री रोग विशेषज्ञ डाक्टर केहलविक्रम जिसी पनि जोडिनुहुन्छ । सबैले केशका बारेमा छलफल गर्ने र उपचारका विधि उपायका विषयमा छलफल गर्ने गर्नुहुन्छ । यसबाट पनि उपचारमा सजिलो भएको डाक्टर भुजेलले बताउनुभयो । जिल्ला अस्पतालमा छुट्टाछुट्टै तीन ठाउँमा कोरोना संक्रमितलाई राखिएको छ । त्यसमा पनि अरु स्वास्थ्यकर्मीले नियमित सेवा गरिरहेका छन् । अनमी प्रेमा केसी, एचए मिलन रावत, अहेव चन्द्र मल्ल र अहेव सुनम ओलीले एक÷एक आइसोलेसनको इन्चार्जसिप गरिरहेका छन् । यसका साथै विभिन्न स्थानीय तहबाट खटि आएका अरु स्वाथ्यकर्मी, विद्यालय नर्स, समुदायमा खटिएका नर्सको पनि कोरोना उपचारमा विशेष भूमीका रहेको डाक्टर भुजेलले बताउनुभयो ।

एक हप्तासम्म १७ जना स्वास्थ्यकर्मीले निरन्तर उपचार गरेपछि फेरि अरु १७ जनाको ड्युटी सुरु हुन्छ । तर डाक्टर भने उनी नै दोहोरिनुपर्छ । सबैले घरपरिवार आफू नभनि विरामीको उपचार गरिरहेको उहाँको भनाई छ । यसमा जिल्ला अस्पताल, स्वास्थ्य सेवा कार्यालयका अरु कर्मचारीको पनि सहयोग रहेको डाक्टर भुजेलले बताउनुभयो । स्थानीय सरकारहरुको पनि सहयोग महत्वपूर्ण भएकाले सहज भइरहेको भनाई डाक्टर भुजेलको छ । 

खास समस्या
जिल्ला अस्पतालमा समस्याका बारेमा डाक्टर भुजेलको बुझाई र भोगाई यस्तो छः– कोरोना संक्रमण बढ्दै जाँदा अक्सिजन आपूर्ति सजिलो छैन । टाढाबाट रिफिल गर्नु पर्दा समयमै कहिल्यै पनि अक्सिजन पुगिरहेको छैन । कोरोना संक्रमितका लागि अरु औषधी जस्तै अक्सिजन पनि महत्वपूर्ण औषधी हो । अरु औषधी पनि समयमै पुग्दैन । टाढा भएका कारणले पनि होला अक्सिजन र अरु महत्वपूर्ण औषधी समयमै आइरहेका छैनन् । अस्पतालमै रहेको भेन्टिलेटर चलाउन सकिएको छैन । जनशक्ति अभावमा त्यो थन्किएको छ । त्यो सञ्चालन गर्न सकेपनि ठूलो राहत हुन्थ्यो । कतिपय औषधीको ठूलै अभाव छ । कतिपय औषधी प्रयोगका लागि हामीलाई पनि अनुमति छैन ।

अरुको परामर्श र सहयोगमा त्यो गरिरहेका छौं । तै पनि पूरा गर्न मिल्ने छैन । कोरोना परीक्षणका लागि एन्टिजेन किट छैन । भर्ना गर्नुपर्ने विरामीलाई मात्रै परीक्षण गरिरहेका छौं । कन्ट्याक ट्रेसिङ तथा थप परीक्षणका लागि किट नहुँदा पनि यो समस्याको रुपमा रहेको छ । जतिसक्यो धेरैलाई परीक्षण गर्न सकेको खण्डमा यसको न्युनिकरण, नियन्त्रण, रोकथाम र उपचारमा सजिलो हुने थियो । 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update