
रुकुम पश्चिममा सानीभेरी गाउँपालिका वडा नम्बर ३ मा भलिबल र ब्याडमिन्टन कवर्ड हल निर्माणको तयारी सुरु भएको छ । स्थानीय युवाहरुको सक्रियतामा कवर्ड हल निर्माणको पक्रिया थालनी भएको हो र यसका लागि आर्थिक सहयोग सङ्कलनको काम सुरु गरिएको छ । जग्गा खरिद तथा कवर्ड हल निर्माणका लागि सहयोग सङ्कलनको काम सुरु भएको कवर्ड हल निर्माणका पहलकर्ता मध्येका एक बालकुमार नकालले जानकारी दिनुभयो ।
कवर्ड हल निर्माणका लागि उहाँले एक लाख सहयोग गर्नुभएको छ । एक लाख सहयोग गरेर आफैबाट सहयोग सङ्कलन अभियानको सुरुवात गरेको उहाँले बताउनुभयो । अरूलाई भन्नुभन्दा पहिला आफैबाट सुरुवात गर्दा राम्रो सन्देश जाने भएकोले सुरुवात आफैबाट गरेको उहाँले बताउनुभयो । कबर्ड हल निर्माण समितिको खातामा १ लाख जम्मा गरिसकेको उहाँले बताउनुभयो ।
विभिन्न व्यक्तिहरु सहयोग गर्न समेत सुरु भइसकेको उहाँको भनाई छ । सहयोग रकम समितिमा खातामा आउने गरी व्यवस्था गरिएको उहाँको भनाई छ । ३० लाख बढी सहयोग सङ्कलन गर्ने लक्ष राखिएको उहाँले जानकारी गराउनुभयो । त्यसपछि गाउँपालिका देखि अन्य तहका सरकार तथा निकायलाई सहयोगका लागि अपिल गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार सहयोगी सबै दाताको नाम र फोटो शिलालेखमा अभिलिखित गरिने छ ।
भलिबल र ब्याडमिन्टन खेल्न मिल्ने गरी एउटै कवर्ड हल निर्माणका लक्ष राखिएको बताइएको छ । कवर्ड हल निर्माण भएमा जिल्लाकै भलिबल र ब्याडमिन्टन खेलको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । जिल्लामा हालसम्म भलिबल खेल्न मिल्ने कबर्ड हल छैन ।