Kakhara सबैको खबर सम्पूर्ण खबर
मनकारी रुकुमेली.....

तीन दिन बढी भयो, चार दिन पुगेन । १७ लाख रुपैयाँ संकलन । यो रुपैयाँ सानो होइन । तीन दिनमै जम्मा भएको यो रकमलाई सानो मान्ने हो भने पनि यसमा सहभागि रुकुमेली भने मनकारी प्रमाणित भए । सबैतिर कोराना महामारीले दुःख दिइरहेको छ । सरकार यसको रोकथाम, नियन्त्रण र उपचारमा लागि रहेको छ । तै पनि कता के कता के पुगिरहेको छैन । रुकुम पश्चिममा पनि कोरोना कहर व्यापक बढ्यो । सबै शक्ति जुट्दा पनि धेरै सामग्री, उपकरणको अभाव भइरह्यो ।

कोरोना संक्रमणका कारण विरामी परेकाहरुका लागि नभइ नहुने उपकरण, औषधीको अभाव दैनिक देखिन थाल्यो । विरामी बढ्दै जान थाले उपकरणको अभाव पनि उकालोमै थियो । यसै क्रममा रुकुम पश्चिम घर भएका मनकारी व्यक्तिहरुले स्वःतस्फुर्त व्यक्तिगत सहयोग संकलन गरेका छन् । जिल्ला अस्पताल सल्लेमा विभिन्न उपकरण सहयोग गर्नका लागि आफ्नो रोजिरोटीबाट कटाएर उनिहरुले सहयोग गरे ।

यस प्रयोजनका लागि थालिएकाे अभियानमा २ सय २३ रुकुम पश्चिम सहित रूकुम पूर्व र विभिन्न देशमा रहेका व्यक्तिहरूले १६ लाख ९७ हजार रुपैयाँ जम्मा गरे । शुक्रबार बेलुकी ७ बजेबाट अब खाता पनि बन्द भइसकेको छ । एक जना अभियान्ता जनक खड्काका अनुसार विशेष गरी निजामती कर्मचारी, स्वास्थ्यकर्मी, अन्य व्यवसायी तथा रुकुम पश्चिम रूकुम पूर्व घर भइ विश्वका विभिन्न देशमा रहनु भएका मनकारीहरुले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोगका लागि नगद सहयोग गर्नुभएको छ ।

व्यक्तिगत रुपमा मुसीकोट नगरपालिका १, सल्ले घर भइ हाल अमेरिका रहनु भएका यमबहादुर विसीले ७१ हजार १ सय ११ ले रुपैयाँ सहयोग गर्नुभएको छ । सल्लेमै घर भइ हाल कतार रहुनभएका पूर्ण थापा र गीता थापाले ७० हजार रुपैयाँ जम्मा गर्नुभएको खड्काले जानकारी दिनुभयो । यसमा ९० प्रतिशत बढी कर्मचारी र स्वास्थ्यकर्मीले सहयोग गरेका छन् भने अरु व्यवसायी, विद्यार्थी लगायत रहेको खड्काले बताउनुभयो ।

यस अभियान अन्तरगत रुकुम पूर्वबाट करिब २ लाख, अष्ट्रेलियाबाट १ लाख ४९ हजार ३ सय ४७ रुपैंया, कतारबाट १ लाख ५५ हजार ९ सय ४० रुपैंया, क्यानडाबाट ९४ हजार र दक्षिण कोरियाबाट ३१ हजार १ सय ११ रुपैंया संकलन भएको छ । २ हजारदेखि माथि सहयोग संकलन भएको छ । यो रकमबाट कोरोना महामारी बढी उपचारमा खटिएको जिल्ला अस्पताल सल्लेलाई सहयोग गरिने छ ।

अर्का अभियान्ता अर्जुन भण्डारीका अनुसार यस रकमबाट अक्सिजन सिलिन्डर, त्यसमा प्रयोग हुने रेगुलेटर, कार्डिक मनिटर, २० किलोवाटको जेनेरेटर, ह्यान्डहेल्ड अक्सिमिटर लगायतका सामग्री खरिद गरेर अस्पताललाई दिइने छ । एन्टिजेन किट लगायतका आवश्यक अन्य सामग्री तथा उपकरण अस्पताललाई हस्तान्तरण गरिनेछ । यो अभियानबाट जिल्लाका लागि केही गर्नुपर्छ, जति सकिन्छ त्यो योगदान गर्नुपर्छ भन्ने भावनाको विकास भएको पाइएको भण्डारीले बताउनुभयो ।

जन्मभूमीका लागि रुकुमेलीले छोटै समयमा राम्रो योगदान गरेको भण्डारीको भनाई छ । यसबाट जिल्लाप्रतिको जिल्लावासीको सहयोगी भावना व्यक्त भएको उहाँले बताउनुभयो । विशेष गरी युवा पुस्ता यसमा बढी जोडिएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update