
नेपाल विद्यार्थी संघ रुकुमेली क्याम्पस इकाई समितिले निर्वाचन कार्यतालिका अनुसार प्रक्रिया अघि बढाउन क्याम्पसको स्ववियु निर्वाचन समिति समक्ष माग गरेको छ । मतदाता सूचिमा विवाद सिर्जना भएको अवस्थामा नेविसंघले मतदाता सूचिमा दाबी विरोधको समय यसअघि नै समाप्त भइसकेकोले अब तत्कालै निर्वाचन प्रक्रिया थाल्न माग गरेको हो ।
साथै नविसंघले बाह्य दबाबमा नपर्न, निष्पक्षता अपनाउन, कुनै पनि विद्यार्थी माथि हस्तक्षेप नगर्न, निर्वाचन प्रक्रियामा प्रभाव पार्ने सबै खाले गतिविधि रोक्न माग राखेको छ । नेविसंघका रूकुमेली क्याम्पस इकाइ समितिका अध्यक्ष निर्मलजंग खड्काले बिहीबार ७ घण्टे अल्टिमेटम सहितको ज्ञापन पत्र निर्वाचन अधिकृत शिवराम खत्रीलाई बुझाउनुभएको थियो ।
नेविसंघले ७ घण्टा भित्र निर्वाचन प्रक्रिया सुरु नभएमा संघर्षका कार्यक्रम सञ्चालन गर्ने चेतावनी समेत दिएको थियो । तर अहिलेसम्म पनि निर्वाचन पक्रिया अघि बढ्न नसकेको नेविसंघका मुसिकोट नगर सभापति चन्द्रबहादुर ओलीले जानकारी दिनुभयो । सहमतिका लागि भन्दै तीन दिन देखि छलफल चलिरहेको र अहिलेसम्म पनि निर्वाचन प्रक्रिया सुरु हुन नसकेको उहाँले बताउनुभयो ।
आफूहरू सहमतिको पक्षमा रहेको तर सहमतिका नाममा ढिलाइ गरे चुप लागेर नबस्ने उहाँले चेतावनी दिनुभयो । बुधवार अखिल क्रान्तिकारी, अनेरास्ववियु, अखिल क्रान्तिकारी, बहुमत र अनेरास्ववियु समाजवादीले एकलौटी रूपमा निर्वाचन प्रक्रिया अघि बढेको भन्दै निर्वाचन समिति खारेजीको माग सहित निर्वाचन समितिमा ज्ञापन पत्र बुझाएका थिए । यो क्याम्पसमा नेविसंघ एकतिर र अरू संगठन अर्कोतिर देखिएका छन् । स्ववियु निर्वाचन चैत्र ५ गते हुँदै छ ।