Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट ७ मा हैजाको संक्रमण, उच्च सतर्कता अपनाउन आग्रह  

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा हैजाको संक्रमण देखिएको छ । वडाको फेचङमा १४ वर्षीय एक बालकमा हैजाको संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पतालमा पुगेका उनीमा परीक्षण गर्दा हैजाको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर केहलविक्रम जिसीले जानकारी दिनुभयो ।

बिरामी परेर शुक्रवार जिल्ला अस्पताल सल्ले पुर्‍याइएका बालकमा परीक्षण गर्दा हैजाको संक्रमण पुष्टि भएको उहाँको भनाई छ । उक्त बालकको स्वास्थ्य अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा आइसोलेटेड गरेर उपचार चलिरहेको उहाँको भनाई छ । हैजा संक्रामक रोग भएको र छिट्टै फैलिन सक्ने भएकोले गाउँमा सतर्कता अपनाउन उहाँले सबैमा आग्रह गर्नुभएको छ ।

यो रोग निकै संक्रामक हुन्छ र हैजाका कारण ज्यान जान सक्ने भएकोले यो रोग महामारीका रूपमा फैलिन सक्ने खतरा बढी हुन्छ, त्यस कारण गाउँका सबै व्यक्तिहरू सचेत हुनुपर्ने अवस्था छ, उहाँले भन्नुभयो । यसबारेमा प्रदेश तथा संघमा जानकारी गराइसकिएको र प्रदेशबाट एउटा टोली आउन लागेको समेत उहाँले जानकारी दिनुभयो ।

वडाध्यक्ष एक्कबहादुर पाण्डेले हैजाको संक्रमण पुष्टि भएपछि गाउँमा सतर्कता अपनाइएको बताउनुभएको छ । घटनाबारे जानकारी हुने बित्तिकै गाउँलेलाई सतर्कता अपनाउन भनिएको र नगरपालिका तथा वडाबाट स्वास्थ्यकर्मीको टोली फेचङ गाउँमा परिचालन गरिएको उहाँले बताउनुभयो । उहाँले पनि हैजाको संक्रमणबाट जोगिन सतर्कता अपनाउन सम्पूर्ण वडावासीलाई आग्रह गर्नुभयो । 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update