
हैजा जीवाणु (ब्याक्टेरिया)मार्फत् हुने एक किसिमको सङ्क्रमण हो । यसले पखाला लाग्ने र शरीरमा पानीको कमी हुने हुन्छ ।
यो रोगको सजिलै उपचार हुन्छ । तर यदि उपचार नगरिए केही घण्टामै यसका कारण मृत्यु पनि हुन सक्छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हैजालाई "गरिबीको रोग" भनी व्याख्या गरेको छ । यसले सफा पानी र आधारभूत सरसफाइ नभएका ठाउँमा बस्ने मानिसहरूलाई बढी असर गर्छ ।
हैजा के कारण हुन्छ ?
'भिब्रिओ कोलरी' भनिने ब्याक्टेरियाका कारण हैजाको सङ्क्रमण हुन्छ ।
यसले सानो आन्द्रामा विषाक्त पदार्थ बनाउँछ, जसका कारण शरीरले धेरै मात्रामा पानी निकाल्छ। त्यसले गर्दा पखाला लाग्छ र गम्भीर अवस्थामा शरीरबाट धेरै मात्रामा नुन तथा तरल पदार्थ बाहिर निस्किन्छ ।
सङ्क्रमण भएको खास गरी १२ घण्टादेखि पाँच दिनभित्र लक्षण देखिन्छन् ।
यद्यपि डब्ल्यूएचओका अनुसार सङ्क्रमित ८० प्रतिशतभन्दा बढी मानिसमा लक्षण देखिँदैन ।
लक्षण देखिने २० देखि ३० प्रतिशतमा भने केही दिनभित्रै पखाला लाग्ने र शरीरमा पानीको मात्रा असाध्यै कम हुने हुन्छ । यदि यसको उपचार नगरिए यसका कारण मानिसको मृत्यु नै हुन सक्छ ।
लक्षणहरू केके हुन् ?
हैजाको सङ्क्रमण भएपछि देखिने लक्षणहरू यस प्रकार छन्:
पखाला लाग्नु र सेतो पातलो दिसा हुनु (यसलाई 'चौलानीजस्तो' भनेर पनि व्याख्या गरिन्छ)
बिरामी हुनु वा बिरामी भएको जस्तो महसुस हुनु (घण्टौँसम्म बान्ता हुनु, खास गरी सङ्क्रमणको प्रारम्भिक चरणमै हुने गर्छ)
पेट दुख्नु
खुट्टा दुख्नु
लक्षण देखिएको केही घण्टाभित्र नै शरीरमा पानीको कमी हुन्छ र त्यो सामान्यदेखि गम्भीर अवस्थामा पुग्छ। शरीरमा पानी कम हुनुको सङ्केतहरूमा थकान, गाडिएका आँखा, सुख्खा मुख, एकदमै प्यास लाग्नु, छाला सुख्खा हुनु, पिसाब नलाग्नु, रक्तचाप कम हुनु र अनियमित मुटुको धड्कन पर्छन् ।
शरीरमा पानी कम हुँदा त्यसले रगतमा खनिज पदार्थ एकदमै कम भएर जान्छ । यसलाई 'इलेक्ट्रलाइट असन्तुलन' भन्छन् ।
मध्यम खालको पखाला लाग्नुलाई हैजा भनेर अन्य बिमारीसँग झुक्किएको हुन सक्छ ।
हैजा कसरी फैलिन्छ ?
भिब्रिओ कोलरी नामक जीवाणुका कारण दूषित भएको खाना खाए वा पानी पिए हैजा लाग्छ ।
लक्षण नदेखिने बिरामीहरूले अरूलाई सङ्क्रमित गर्ने जोखिम उच्च रहन्छ किनभने उनीहरूले आफू सङ्क्रमित भएको एकदेखि १० दिनसम्म दिसाबाट अरूमा जीवाणु सार्न सक्छ्न ।
विश्व स्वास्थ्य सङ्गठनले त्यसरी सङ्क्रमित व्यक्तिको दिसा वा बान्ताबाट आफूलाई हैजा सर्ला भनेर सचेत हुनुपर्ने बताएको छ । त्यसबाहेक हैजाका कारण मृत्यु भएको शरीरबाट पनि जोगिनुपर्ने जनाएको छ ।
हैजाबाट कसरी जाेगिने ?
यूकेको न्याश्नल हेल्थ सर्भिस (एचएचएस) ले हैजा भेटिएको क्षेत्रमा जाँदा कसरी जोगिने भनेर सुझावहरू दिएको छ :
खास गरी शौचालय गएपछि र खाना पकाउनु तथा खाना खानुअगाडि साबुनपानीले निरन्तर हात धुनुपर्छ ।
सफा पानी मात्रै पिउनुहोस्, अनि सम्भव भएसम्म उमालेको पानी पिउनुहोस् ।
दाँत माझ्दा पनि खानेपानी प्रयोग गर्नुहोस् ।
नपाकेको फल वा नपकाइएको तरकारी नखानुहोस् । खानेपानीले त्यसलाई राम्ररी पखाल्ने गर्नुहोस् ।
'सीफूड' नखानुहोस्।
पानीमा बरफ नहाल्नुहोस् ।
केरा, सुन्तला र आभकाडोजस्ता फलफूल खाँदा आफैँले त्यसको बोक्रा छोडाउनुस्। बेरी वा अङ्गुरजस्ता बोक्रा नभएका फलफूल र सलादहरू पनि नखानुहोस् ।
सजिलै उपचार हुन सक्ने रोग
हैजाको उपचार सहजै गर्न सकिन्छ । 'ओआरएस' अर्थात् 'जीवनजल'लगायतका पदार्थ पिएर शरीरमा पानीको मात्रा बढाउनुपर्छ ।
डब्ल्यूएचओको मापदण्डअनुसार 'ओआरएस'को एउटा प्याकेटमा भएको पाउडरलाई एक लिटर सफा पानीमा मिसाउनुपर्छ ।
उसका अनुसार 'ओआरएस' स्वास्थ्यकर्मीबाट लिन सकिन्छ वा घरमै पनि नुन र चिनी मिसाएर बनाउन सकिन्छ । त्यसरी घरमा बनाउँदा एक लिटर पानीमा छ चिया चम्चा चिनी र एक चम्चा नुन मिसाएर बनाउनुपर्छ ।
बिबिसी नेपाली सेवाकाे सहयाेगमा