Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा पनि विश्व उपभोक्ता अधिकार दिवस मनाइयो

रुकुम पश्चिममा पनि विश्व उपभोक्ता अधिकार दिवस मनाएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा खलंगामा शनिबार प्रभात फेरी कार्यक्रम गरी विश्व उपभोक्ताअधिकार  दिवस मनाएको हो । त्रिवेणी चोकबाट निकालिएको प्रभातफेरी सहिद गेट, तल्लो बजार, जिल्ला प्रशासन कार्यालय हुँदै कालिकाथानमा आएर कोणसभामा परिनत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै मुसिकोट नगर उपप्रमुख बिमलकुमार पुनले उपभोक्तालाई सचेत बनाउन उपभोक्ता अधिकार सम्बन्धी जिल्लामा बृहत कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो ।

दिवसमा मात्रै नभई अन्य दिनहरुमा पनि उपभोक्तालाई सचेत बनाउने विषयमा सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्ने उहाँको भनाइ थियो । उपभोक्ताको हक,अधिकारका सवालमा नगरपालिका  सहयोग गर्न सधैं तयार रहेको उहाँले बताउनुभयो । साथै उपभोक्ताले पनि उपभोग्य वस्तु खरिद गर्दा सचेत हुनुपर्ने नगर उप प्रमुख पुनको भनाइ थियो । 

उद्योग तथा व्यसायिलाई सचेत बनाउन कार्यालयको तर्फबाट निरन्तर लागिरहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख रमेश ओलीले बताउनुभयो । उपभोक्तालाई ठगिनबाट जोगाउन र उद्योग व्यसायिलाई सचेत बनाउन बेलाबेला जिल्ला प्रशासनको समन्वयमा जिल्लाका छवटै पालिकाका बजार क्षेत्रमा अनुगमन गर्ने गरिएको उहाँले बताउनुभयो । पहिलो चरणको बजार अनुगमन सकिएको र अब छिटै दोस्रो चरणको बजार अनुगमनको तयारीमा कार्यालय रहेको उद्योग तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख ओलीले जानकारी दिनुभयो  ।

कार्यक्रम जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विक, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक ऋषी पाठक, डिभिजन वन कार्यालय प्रमुख शेरबहादुर परियार, अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष नारायणकुमार शाहले गर्नुभएको थियो ।

 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update