
पूर्व मन्त्री तथा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले मध्यपहाडी लोकमार्गमा पर्ने चौरजहारी–जाजरकोट जोड्ने भेरी पुल निर्माणका लागि निर्देशन गर्न माग गर्नुभएको छ । आइतबार संसद्को शून्य समयमा बोल्दै उहाँले मध्यपहाडी लोकमार्ग भेरी पुल निर्माणको काम अलपत्र परेको भन्दै उक्त निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिन सभामुख मार्फत सरकार समक्ष माग गर्नुभएको हो ।
शर्माले हुलाकी मार्गका दुई र पुष्पलाल लोकमार्गको एक पुल कहिले बनिसक्छन् समय तालिकासहित निर्माणका लागि निर्देशन दिन सभामुखलाई आग्रह गर्नुभयो । ‘हुलाकी मार्गमा बन्दाबन्दै भासिएको कमला पुल, हुलाकी मार्गकै बडरवा बागमती पुल र मध्यपहाडी पुष्पलाल लोकमार्गको भेरी नदी चौरजहारी पुल अलपत्र परेका छन्,’ माओवादी सांसद शर्माले भन्नुभयो, ‘कहिले निर्माण हुन्छन् समय तालिकासहित निर्माणका लागि आवश्यक निर्देशनका लागि सभामुखलाई आग्रह गर्न चाहन्छु ।’
भेरी पुल निर्माण कार्य वर्षौँ देखि अलपत्र अवस्थामा रहेको छ । केही समय अघि मात्र उहाँ सहित राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय लगायतको टोलीले पुल निर्माण स्थलमै पुगेर पुल निर्माणको काम तत्काल सुरु गरी सम्पन्न गर्न निर्देशन दिएको थियो । तर अहिलेसम्म पनि काम सुरु हुन सकेको छैन । भेरी पुल निर्माणको काम वर्षौँसम्म अलपत्र पर्दा मध्यपहाडी लोकमार्ग मार्फत रुकुम पश्चिम र जाजरकोट सिधा सडक सञ्जालमा जोडिन सकेका छैनन् ।
उहाँले आन्दोलनरत शिक्षकका माग सम्बोधन गरी सम्झौता लागु गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन थप सुविधा दिने कुरा गर्नुभन्दा गरिबी निवारणमा लगानी गर्ने कानुन बनाउन पनि उहाँले सरकारलाई आग्रह गर्नुभएको छ । मिर्गौला र क्यान्सरपीडितहरूलाई सहयोग गर्नेतिर अघि बढ्नुपर्ने समेत उहाँको भनाइ छ ।