Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमेली क्याम्पसमा तालाबन्दी

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा रहेको रुकुमेली क्याम्पसमा तालाबन्दी भएको छ । स्ववियु निर्वाचनको विषयलाई लिएर ५ विद्यार्थी सङ्गठनले गयराती क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेरास्ववियु समाजवादी, अखिल क्रान्तिकारी बहुमत र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले संयुक्त रूपमा फागुन २८ गते विभिन्न माग राख्दै क्याम्पस स्ववियु निर्वाचन समितिमा ज्ञापन पत्र बुझाएका थिए ।

माग पुरा नभएपछि तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रमेश लामिछानेले जानकारी दिनुभयो । फर्जी विद्यार्थी भर्ना गरी मतदाता नामावली प्रकाशन गरिएको र फर्जी विद्यार्थीबाटै उम्मेदवार बनाइएको भन्दै यसलाई रोक्न पाँच सङ्गठनको माग रहेको उहाँले बताउनुभयो ।

छलफल र सहमतिबाट अघि बढौँ भन्दा जबरजस्ती गरिएपछि अखिल क्रान्तिकारीको नेतृत्वमा तालाबन्दी गर्न बाध्य भएको उहाँको भनाई छ । स्ववियु निर्वाचन भोली चैत्र पाँच गते हुँदै छ । क्याम्पसमा तालाबन्दी भएपछि अव निर्वाचन अन्योलमा परेको छ । 

रुकुमेली क्याम्पस स्ववियु निर्वाचन अधिकृत शिवराम खत्रीले क्याम्पसमा तालाबन्दी भएको जानकारी भएको तर कसले तालाबन्दी गर्‍यो भनेर जानकारी नभएको बताउनुभयो । बिहान क्याम्पस खोल्न पुग्दा क्याम्पसमा तालाबन्दी भएको भन्दै निमित्त क्याम्पस प्रमुखबाट आफूलाई जानकारी भएको र कसले ताला लगाएको भनेर क्याम्पस तथा निर्वाचन समितिलाई जानकारी नभएको उहाँको भनाई छ ।

उहाँले निर्वाचन प्रक्रिया अघि बढिसकेको र मत पत्र छाप्ने अन्तिम चरणमा रहेको बताउनुभयो । तालाबन्दीका विषयमा छलफल गरेर अघि बढ्ने उहाँले बताउनुभयो । 

यसैबिच नेपाल विद्यार्थी संघ नेविसंघले तत्काल ताला खोलेर निर्वाचन प्रक्रिया अनुसार हुनुपर्ने बताएको छ । मौन अवधिमा क्याम्पसमा तालाबन्दी गर्ने कुरा राम्रो नभएको र तालाबन्दी कसले गर्‍यो भनेर समेत जानकारी नभएको भन्दै ताला खोलेर तत्कालै निर्वाचन प्रक्रिया अनुसार अघि बढ्न तथा तोकिएकै समयमा भोली स्ववियु निर्वाचन हुनुपर्ने नेविसंघ रुकुमेली क्याम्पस इकाई समितिका अध्यक्ष निर्मलजंग खड्काले बताउनुभयो ।

तालाबन्दीका कारण क्याम्पसको पठन पाठन तथा अन्य शैक्षिक गतिविधिमा असर परेको उहाँले बताउनुभयो ।    

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update