Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमेली क्याम्पसमा स्ववियु निर्वाचन स्थगित, ताला खुल्यो  

रुकुम पश्चिमको मुसिकोट खलंगामा रहेको रुकुमेली क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन स्थगित भएको छ । निर्वाचनका विषयमा विवाद बढ्दै गएपछि निर्धारित समय चैत्र ५ गते भोली चुनाव नहुने भएको हो । निर्वाचन अधिकृत शिवराम खत्रीले एक सूचना जारी गर्दै चैत्र २० गतेसम्मका लागि चुनाव स्थगित गरिएको जानकारी गराउनुभएको छ । जिल्ला प्रशासन कार्यालयमा भएकाे छलफल पछि निर्वाचन स्थगित गरिएकाे हाे । 

निर्वाचनका विषयमा विद्यार्थी संगठनहरु बिचमा विवाद पेचिलो बन्दै गएपछि निर्वाचन स्थगित गरिएको उहाँले बताउनुभयो । फर्जी विद्यार्थी भर्ना गरिएको र त्यसैबाट उम्मेदवार बनाएको लगायतका माग राख्दै अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेरास्ववियु समाजवादी, अखिल क्रान्तिकारी बहुमत र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आइतबार क्याम्पसमा तालाबन्दी गरेका थिए ।

यी संगठनले संयुक्त रूपमा फागुन २८ गते फर्जी विद्यार्थी भर्ना रोक्नुपर्ने लगायतका विभिन्न माग राख्दै क्याम्पस स्ववियु निर्वाचन समितिमा ज्ञापन पत्र समेत बुझाएका थिए । नेविसंघ एकातिर र अन्य विद्यार्थी संगठन अर्कोतिर भएपछि विवाद बढ्दै गएको थियो । जसका कारण निर्वाचन तालिका अनुसार प्रक्रिया अघि बढ्न सकेको थिएन । जसले गर्दा निर्धारित समयमा निर्वाचन हुन सक्ने अवस्था नभएपछि अन्तिम समयमा आएर चुनाव स्थगित गरिएको हो ।

यसैबिच क्याम्पसमा लागेको ताला खुलेको छ । निर्वाचन स्थगित भएपछि ताला खोलेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रमेश लामिछानेले जानकारी दिनुभयो । 

IMG-20250317-WA0032-1742226590.jpg

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update