Kakhara सबैको खबर सम्पूर्ण खबर
जाजरकोट भूकम्पः चौरजहारीमा पुनर्निमार्णको काम सुरु 
पुनर्निमार्णकाे लागि पहिलाे किस्ताकाे चेक हस्तान्तरण गर्दै ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भूकम्प पीडितहरूका लागि पुनर्निमार्णको काम सुरु भएको छ । नगरपालिकाको वडा नम्बर २ का दुई जना लाभग्राहीहरूसँग सम्झौता गरी पुनर्निर्माण काम सुरु गरिएको हो । दुई नम्बर वडाका विष्णुप्रसाद गौतम र सशिला रावतसँग सोही वडाका वडा अध्यक्ष विरबहादुर रानाले पुनर्निमार्णको लागि बुधबार सम्झौता गर्नुभएको हो । 

सम्झौता गरिएका गौतम र रावतलाई पुनर्निर्माणको पहिलो किस्ता वापत ५०/५० हजार रुपैयाँ उहाँहरुको खातामा जम्मा गरी चेक समेत हस्तारण गरिएको चौरजहारी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।

विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि, २०८१ बमोजिम पुनर्निर्माणका लागि छनोट भएका लाभग्राहीहरूले ४ लाख रुपैयाँका दरले अनुदान रकम प्राप्त  गर्नेछन् । २०८० साल कार्तिक १७ गते राती जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण चौरजहारी नगरपालिकामा ७ हजार ४ सय घरमा क्षति पुगेको थियो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट खटिएको प्राविधिक टोलीले क्षतिको विस्तृत आँकलनको काम थियो । क्षतिको आकलनपछि लाभग्राही पहिचान गर्नुका साथै जिल्ला विपद व्यवस्थापन समितिले लाभग्राही स्वीकृत गरेपछि पुनर्निर्माणका लागि सम्झौता सुरु भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो । 

विस्तृत क्षति आकलन सकिएका बाँकी वडाहरूमा पनि लाभग्राही पहिचान र स्वीकृतिको कामलाई उच्च प्राथमिकतामा राखी पुनर्निर्माणको कार्यलाई तीव्रता दिइएकाे चौरजहारी नगरपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update