Kakhara सबैको खबर सम्पूर्ण खबर
२४ बर्षपछिको एउटा संयोग एकै दिन विवाह भएकाहरुका छोराछोरीकाेे पनि विवाह

२०५३ जेठ २५ गते तत्कालिन पूर्तिमकाँडा गाविसमा एउटा कार्यक्रम भयो । काम व्यक्तिगत हुँदै थियो । तर कार्यक्रम भने पार्टीको थियो । तत्कालिन नेकपा माओवादीले सामूहिक जनवादी विवाह कार्यक्रमको आयोजना गरेको थियो । ४ जोडीको एकै पटक विवाह भयो । चुनवाङका सूर्यप्रकाश पुन सुन्दर र खलंगाकी परम्परा गौतम वृक्षाको एउटा जोडी । महतका तेजबहादुर ओली प्रतिक र काँक्रीकी जुनकुमारी रोका प्रभाको जोडीको विहे पनि त्यसै मञ्च, त्यसै दिनमा भयो । उक्त कार्यक्रममा विहे हुने अर्को जोडि थियो पिपलका कलबहादुर नाथ महान र खोलागाउँकी पवित्रा विएम लाभा र पूर्तिमकाँडाका नरबहादुर बोहरा र निर्मला महतराको जोडीले पनि सोही मञ्च, उनै अतिथि र तिनै जनतालाई साँक्षी राखेर जनवादी विवाह सम्पन्न गरेका थिए । विवाह नै पार्टीले गरिदिएको थियो । पार्टीले नै अबिर किनेर विहे गराइदिएको थियो । छोटोमिठो विहेमा सबैको प्रतिबद्धता थियो, देश र जनताको परिवर्तनको लागि एकसाथ अघि बढ्ने आवश्यक्ता पर्दा बलिदान दिने पनि ।

जनयुद्धको दौरानमै त्यो विहे भएको थियो । जनयुद्ध घोषणा भएको एक बर्ष मात्रै पूरा भएको थियो । पूर्णकालिन बनेर सबै जोडि जनयुद्धमा होमिएका थिए । यही मेसोमा पार्टीले विहे गराइदिएको थियो । जनयुद्धकै क्रममा एक जोडि नै सहिद भयो । सूर्यप्रकाश पून सुन्दर र परम्परा गौतम वृृक्षा सहिद हुनुभयो । कलबहादुर नाथ महानको जीवन संगिनी पवित्रा विएम लाभाले पनि जनयुद्धकै क्रममा बलिदान गर्नुभयो । ८ जना मध्य ३ जनाको लडाइकै क्रममा मृत्यु भएपछि ५ जना दश बर्षे जनयुद्ध लडेर त्यसपछिको लडाइँ पनि लड्दै हुनुहुन्छ । त्यस मध्यको प्रतिक र प्रभाको जोडी, महान र अर्को एक जोडी अहिले पनि जनताको लागि लडाइमा छ । तर लडाइको मोर्चा फरक छ । प्रतिक लुम्बिनी प्रदेश सभाको प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ भने प्रभा २०६४ सालको संविधान सभामा निर्वाचित संविधान सभा सदस्य हुनुहुन्छ । महान हालको नेकपामै क्रियाशिल हुनुहुन्छ ।

२०७७ मंसिर २ गते मुसीकोट नगरपालिकामा एउटा जनवादी विवाह भयो । सन्दिप पुन र चुनौती ओलीकाबीचमा । २०५३ जेठ २५ र २०७७ मंसिर २ गते भएका यि दुई विवाहको एउटा संयोग छ । सन्दिप सहिद सुन्दर र वृक्षाका छोरा हुन् भने चुनौती प्रतिक र प्रभावकी छोरी हुन् । २४ बर्ष अघि सुन्दर र वृक्षा तथा प्रतिक र प्रभाको एउटै मञ्चमा यसरी नै जनवादी विवाह भएको थियो । त्यसरी नै सुन्दर–वृक्षा र प्रतिक–प्रभाको छोरा–छोरीको विवाह सम्पन्न भयो । आमा–बाकै तरिकाबाट अबिर लाएर सन्दिप र चुनौतीको विवाह पनि सम्पन्न गरियो । नेकपाका नेता जनार्दन शर्माको उपस्थितिमा सन्दिप र चुनौतीको विवाह भएको हो । यसका लागि शर्मा गृह जिल्ला आउनुभएको थियो । यसमा अभिभावको पनि विशेष चासो देखिन्छ । २४ बर्ष अघिको कुरा फेरि संयोग भएर आउनु भनेको इतिहाँसप्रति सम्मान भएको प्रतिकका दाजु गजेन्द्रबहादुर ओलीले बताउनुभयो । जनयुद्धताका एउटै मञ्चमा विहे गरेका जोडीका छोराछोरीको विह हुने संयोग मात्रै नभएर एउटा इतिहास जोडिएको ओलीको भनाई छ ।

सन्दिप र चुनौती जनयुद्धकै क्रममा जन्मिएका हुन् । दुवैलाई हुर्काउन बढाउन समस्या भयो । लुकी लुकी युद्ध लड्नुपर्ने जिम्मा लिएका कारण उनीहरुलाई हुर्काउन सजिलो पक्कै भएन । सन्दिप झन सानै उमेरमा एक्लो हुनुपर्यो । बुवा र आमा तत्कालिन राज्य पक्षबाट मारिएपछि हुर्कन, बढ्न तथा पढ्नका लागि साह्रै समस्या झेल्नुपरेको थियो । आमा परम्परा गौतम वृक्षाको २०५९ जेठ १४ गते बझाङमा हत्या भएको थियो । आमा सहिद भएको खबर सबैतिर नपुग्दै सन्दिपका बुवा पनि सहिद हुनुभयो । २०५९ जेठ २३ गते बझाङमै सूर्यप्रकाश पुन सुन्दरको पनि हत्या भएको थियो । सहिद हुँदा सुन्दर पार्टीकाे तत्कालिन क्षेत्रीय व्युराे सदस्य(आरबीएम) र वृक्षा जिल्ला कमिटि सदस्य(डिसिएम) हुनुहुन्थ्याे । त्यसपछि विभिन्न ठाउँ, घर, मान्छेसित सन्दिप हुर्कनु बढ्नु भएको थियो । पछिल्लो समय मामाघरका हजुरबा, हजुरआमाको प्रत्यक्ष निगरानी र सहयोगमा सन्दिपले शिक्षा आर्जन गर्नुभयो ।

२०५४ मा जन्मिएका सन्दिप बायोटेक इन्जिनियर हुनुहुन्छ । सन्दिपका मामाघरका हजुर बुवा देविलाल गौतमले धेरै जनाको अभिभावकत्वबाट हुर्किएका सन्दिपको विवाह सम्म आइपुग्दा खुसी लागेको बताउनुभयो । कठिन परिस्थितिका बाबजुद विभिन्न ठाउँ, मान्छे हुँदै हुर्किएका सहिद पुत्रले आमाबाकै समकक्षी एउटै मञ्चमा विवाह भएका अभिभावकसँग नाता जोडेपछि एक हिसाबले आफ्ना आमाबाको सपना पूरा गरेको उहाँले बताउनुभयो ।

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०७७  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update