दोस्रो भेरियन्टको कोरोना महामारी भारतमा उत्कर्षमा थियो । यता सुनसान जस्तै थियो । फेरि कोरोना आउला र भन्ने सम्मको अवस्था थियो । तर एक्कासी नेपालमा पनि यो फैलियो । संक्रमण बढ्दै गयो, संक्रमितहरु बढ्दै गए । संक्रमणका कारण कडा विरामी पर्नेहरु पनि थपिदै गए ।
हुँदा हुँदा कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या पनि बढ्दै गयो । सुरुमा खास तयारीमा ध्यान नदिने चलन सबैतिर छ । रुकुम पश्चिममा पनि त्यस्तै भयो । सुरुमा तयारी गर्न अलि ध्यान पुगेन । तर जव आपत पर्ला जस्तै भयो । त्यसपछि सबै तात्तिए । स्थानीय तह, अस्पताल, संघीय, प्रदेश सांसदहरु एकाएक तात्तिए ।
जिल्लामा संक्रमित बढ्दै गएको, अस्पतालका आइसोलेसनमा विरामी राख्ने ठाउँ नभएको जस्ता खबर सार्वजनिक हुन थालेपछि त्यसको व्यवस्थापनमा स्थानीय तह कम्मर कसेर लागे । संघीय संसद जनार्दन शर्माले सकेको सहयोग र पहल गर्नुभयो ।
जिल्ला अस्पताल, चौरजहारी अस्पताल तथा अरु स्वास्थ्य संस्थामा रहेका डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारी पनि विना कुनै शर्त प्रतिबद्ध भएर कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिए । गत वैशाख ६ गते पहिलो पटक जिल्लामा कोरोना संक्रमितको मृत्यु भयो ।
त्यसको सातापछि मात्रै यसको रोकथाम, नियन्त्रण तथा उपचारमा बढी ध्यान दिएर लागिएकाे थियाे । त्यसपछि स्थानीय सरकारले पनि सकेको मेहनत गरेका छन । तीन हप्तामा व्यवस्थापनले एउटा रुप लिएकाे छ । जिल्ला अस्पताल तथा चौरजहारी अस्पतालका साथै सबै पालिकामा आइसोलेसन वार्ड तयार छन् ।
स्थानीय तह तथा अस्पतालमा आधारभुत उपकरण जडान गरिएको छ । आधारभुत सेवा प्रवाहका लागि स्थानीय तह तम्तयार छन् । तीन सातामा जिल्लामा धेरै बेड थपिए । अक्सिजन सिलिन्डर, कन्सन्टेटर, ल्याइए, अक्सिमिटर मार्फत गाउँ गाउँमा पुगेर अक्सिजन नाप्न थालियो । हाल जिल्लामा २ सय ४४ वटा बेड छन् । एकै पटक २ सय ४४ जनालाई बेडमा राखेर आधारभुत उपचार सेवा दिन सकिने अवस्था छ । यही समयमा २ सय ३ बेड थपिएका हुन् । यस अघि ४१ बेड थिए ।
२ सय ५ वटा अक्सिजन सिलिन्डर जिल्लामा छन् । त्यसलाई वरपर बनाएर उपचारलाई सहज बनाइएको छ । ३१ वटा कन्सन्टेटर छन् । यसैबाट विरामीको श्वासप्रश्वासमा सजिलो बनाइदिएको छ । १ सय ९३ पल्स अक्सिमिटरबाट अक्सिजनको मात्रा नाप्ने र त्यसकै आधारमा अवस्थाको विश्लेषण भइरहेको छ । हरेक जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथमा हरेक स्थानीय तहमा आइसोलेसन वार्ड तयार छन् । कति वार्डमा विरामीको पनि उपचार भइरहेको छ ।
क्र.स. | स्थानीय तह/अस्पताल | आइसोलेसन बेड | अक्सिजन सिलिन्डर | कन्सन्टेटर | अक्सिमिटर |
१ | मुसीकोट नगरपालिका |
५० | ८ | ३० | |
२ | चौरजहारी नगरपालिका |
४५ | ८ | ३ | २३ |
३ | आठबीसकोट नगरपालिका |
१५ | १२ | ६ | २० |
४ | बाँफिकोट गाउँपालिका |
१५ | २३ | ३ | २८ |
५ | सानीभेरी गाउँपालिका |
२२ | ७ | १ | २० |
६ | त्रिवेणि गाउँपालिका |
२० | २८ | ८ | १२ |
७ | जिल्ला अस्पताल |
५९ | ५५ | ४ | ३० |
८ | चौरजहारी अस्पताल |
१८ | ६४ | ६ | ३० |
जम्मा | १० | २४४ | २०५ | ३१ | १९३ |
मुसीकोट नगरपालिकाले जिल्ला अस्पतालसँगै मिलेर उपचार व्यवस्थापनको काम गरिरहेको छ । आठबीसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणि गाउँपालिकामा एमबीबीएस डाक्टरको निगरानीमा आइसोलेसन सञ्चालन भइरहेका छन् ।
बाँफिकोट गाउँपालिकाले समस्या पर्दा जिल्ला अस्पताल पठाउने गरेको छ भने आधारभुत उपचार दिन सकिनेलाई आइसोलेसनमा राख्ने तयारी गरेको छ । मुसीकोट नगरपालिकाले ५० बेड क्षमताको एक निजी अस्पताल भाडामा लिएर जिल्ला अस्पतालको नियमित सेवा प्रवाहमा सहयोग गरिरहेको छ ।
कोरोना विरामी राख्ने गरी उक्त अस्पताल भाडामा लिएपनि सबै कोरोना विरामी जिल्ला अस्पताल राखि अरु नियमित विरामीको उपचार उक्त अस्पतालबाट भइरहेको प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बताउनुभयो । सबै कोरोना विरामीलाई एउटै ठाउँमा राख्दा सजिलो हुने भएपछि भाडामा लिइएको उक्त अस्पतालमा जिल्ला अस्पतालले कोभिड बाहेकका सेवा प्रवाह गरिरहेको तिवारीले जानकारी दिनुभयो ।
चौरजहारी नगरपालिको २ नम्बर वडाको सेवा केन्द्रमा १५, ७ नम्बर वडाको कोटजहारीमा १५ र १० नम्बर वडाको खोलागाउँमा १५ बेडको १५ बेडको आइसोलेसन सञ्चालन गरिरहेको छ । आठबीसकोट नगरपालिकाले आइसोलेसन वार्ड नै निर्माण गरेको छ । गत वर्ष बनाइएको उक्त वार्डमा १५ जना विरामीलाई एकै पटक राखेर उपचार गर्न सकिन्छ ।
सानीभेरी गाउँपालिकाले २२ वटा बेड सहितको आइसोलेसन बनाएको छ । त्रिवेणि गाउँपालिकाले गाउँपालिका अस्पताललाई नै कोभिड आइसोलेसन वार्ड बनाएको छ । हाल उक्त अस्पतालमा २० बेडको आइसोलेसन सञ्चालित छ । बाँफिकोटले कोटको स्यार्पू शिक्षा क्याम्पस र छिन्खेतमा गरी १५ बेडको आइसोलेसन वार्ड तयार राखेको छ ।
यसका अलावा चौरजहारी अस्पतालमा अक्सिजन प्लान्ट जडानको तयारी भइरहेको छ । चौरजहारी नगरप्रमुख विशाल शर्माले केही दिनमा नै अक्सिजन प्लान्ट जडानको काम सुरु हुने जानकारी दिनुभयो । त्यसका लागि आवश्यक सामग्रीको माग भइसकेको छ ।
जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले नेतृत्वको पहलकदमी र स्थानीय सरकार, जिल्ला अस्पताल, चौरजहारी अस्पताल लगायतको सक्रियतामा एउटा संरचना र व्यवस्थापनमा काम भइरहेको बताउनुभयो । कोरोना रोकथाम, उपचार तथा नियन्त्रणमा सबैको सयुंक्त इच्छाशक्ती र सहकार्यमा यो सम्भव भएको शर्माको भनाई छ । यद्यपी यो पर्याप्त नभएकाले अरु पनि पहल र प्रयास जारी रहेको शर्माले बताउनुभयो ।
केद्रबाट गर्नुपर्ने पहल र प्रयास संघीय सांसद जनार्दन शर्माले गरेको र अरु सबैले आ–आफ्नो ठाउँबाट कडिकडाउ गरी लागेको परिणाम यो भएको समन्वय प्रमुख शर्माको भनाई छ । अब अक्सिजन नियमित बनाउन सकेपछि थप सहज हुने बुझाई उहाँको छ । अक्सिजन रिफिल गर्न दाङ, नेपालगञ्ज, भइरहवासम्म जानुपर्ने भएका कारण पनि कति कति बेला भनेकै समयमा अक्सिजन नपुग्ने र त्यसको पनि व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर प्रयास भइरहेको समन्वय प्रमुख शर्माले बताउनुभयो ।